शनिबार, बैशाख ५, २०८३

गुरगी योजना नबनेपछि सांसद र कर्मचारी सहभागी कार्यक्रम स्थानीयद्वारा बहिष्कार

धनगढी । कैलालीको कैलारी गाउँपालिकास्थित गुरगी सिँचाइ योजना बजेट विनियोेजन गरिए पनि निर्माण नभएपछि असन्तुष्ट स्थाानीयवासीहरु सुदूरपश्चिम प्रदेशका सांसद र कर्मचारीहरु सहभागी कार्यक्रम वहिष्कार गरेका छन् ।

शुक्रबार प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको आयोजनामा गुरगी सिँचाइ आयोजना पुनर्निमाणमा ढिलाइ सम्बन्धमा सार्वजनिक सुनवाइ कार्यक्रम गरेको थियोे ।

सो कार्यक्रममा स्थानीयहरु आफ्ना धारणाहरु राखिसकेपछि कार्यक्रम वहिष्कार गरी कार्यक्रम हलबाट बाहिरिएका थिए ।

समितिका सभापति तथा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमप्रसाद भट्ट, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर टेकराज विनाडी कर्मचारीसँग स्थानीयले तत्कालीन सचिव सुरत बम र सिँचाइ डिभिजनका प्रमुख डम्बर धितालले योजनाका नाममा भ्रष्टाचार गरेकोले उनीहरूसँगै कुरा गर्न दिनुपर्ने माग गरे ।

सांसदहरूसँग कुनै गुनासो नरहेको बताउने स्थानीय रेवन्त बोहराले कर्मचारीले आर्थिक अनियमितता गर्न हरेक वर्ष बजेट छुट्याउने, डीपीआरका नाममा भ्रष्टाचार गरेकाले उनीहरूमाथि छानविन गरेर कारवाही हुनुपर्ने माग गरेपछि कार्यक्रममा होहल्ला सुरू भएको थियो ।

होहल्लाकाबीच जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर विनाडी बोल्ने क्रममा स्थानीय कार्यक्रम बहिष्कार गरेर बाहिरिएका थिए ।

सरकारले हरेक वर्ष बजेट छुट्याएपनि योजना निर्माण नहुँदा स्थानीयमा ठूलो आक्रोश रहेको छ ।

कार्यक्रममा समितिका सदस्य समेत रहेको नेकपा माओवादी केन्द्रका संसदीय दल नेता खगराज भट्ट, एमाले प्रमुख सचेतक चक्र बहादुर मल्ल, कांग्रेस सांसद ललिता सुनार, माओवादीका शिवसिंह ओली र स्वतन्त्र सांसद डा ताराप्रसाद जोशीको सहभागिता रहेको थियो । स्थानीयले कार्यक्रम वहिष्कार गरेपछि उनीहरु नबोलेर फर्किएका थिए ।

यो पनि पढौँ