शुक्रबार, बैशाख ४, २०८३

गेटा अस्पताल उद्घाटन गर्नआएका मन्त्री पौडेललाई अवरोध, कार्यतालिकाविहीन रनथनिए धनगढीमै

धनगढीः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको बुधबार कैलालीको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगतको अस्पताल उद्घाटन गर्ने कार्यतालिका थियो ।

विश्वविद्यालय अन्तरगतको सो गेटा अस्पताल झण्डै २ महिना अगाडिदेखि नै सञ्चालनमा आएको छ । सो अस्पतालको आकस्मिक कक्षको उद्घाटनका लागि मन्त्री पौडेल धनगढी आएका हुन्।

तर, विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले विहानैदेखि विरोध जनाएपछि उनी धनगढीमै रनथनिएका हुन् ।

विरोधपछि निर्धारित उद्घाटनको कार्यक्रम रोकिएपछि उनी धनगढीमा कार्यकर्ता भेटघाटमा सीमित हुन पुगेका छन् ।

गत वर्ष पुस २३ गते गेटा अस्पतालको अवलोकन गरेका मन्त्री पौडेल दोस्रो पटक गेटा अस्पतालमा अवलोकन तथा आकस्मिक कक्षको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । तर, सङ्घर्ष समितिले ३ सय शैयाको अस्पताल सञ्चालन गर्ने बाँचा गरेका मन्त्री पौडेलले एक कक्षको मात्र उद्घाटन गर्न लागेका भन्दै विरोध गरेको हो ।

विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेले आफ्नो पदको गरिमालाई ख्याल नै नगरी पाँच शैयाको कक्ष उद्घाटन गर्न आएको बताए । त्यसपछि आफूहरु मन्त्रीको अवलोकन तथा उद्घाटन कार्यक्रममा अवरोध गरेको बताए ।

उद्घाटन गर्न नपाएपछि नेपाली काँग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री पौडेलले विश्वविद्यालयको स्थलगत हेर्दा धेरै जानकारी हुन्छ भनेर गेटामा हेर्न खोजेको तर त्यहाँ भएको नाराबाजी बिरोध के का लागि हो बुझ्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले रातो कितावमा नै बजेट बिनियोजन गरेका कारण बिरोधको कुनै अर्थ नरहेको बताए। पौडेलले कसैले बिरोध गरेपनि आफू बिचलित नभई गेटालाई छिटो भन्दा छिटो सञ्चालन गर्न लागि परेको सुनाए ।

सुदूरपश्चिमका जनताले दशकौँदेखि प्रतीक्षा गरेको गेटा मेडिकल कलेजको सपना अझै अधुरो छ । ६ अर्बभन्दा बढी खर्च गरेर विशाल पूर्वाधार तयार पारिएको छ, ऐन बनेर विश्वविद्यालयको कानुनी बाटो खुलेको छ । तर अस्पताल सञ्चालनको कुरा भने अझै विवाद र असमझदारीको घेरामा छ ।

यो पनि पढौँ