शनिबार, बैशाख ५, २०८३

थारु समुदायले आज ‘भेवा’को उपसना गरी अट्वारी पर्व मनाउँदै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा विदा

धनगढी : सुदूरपश्चिम र लुम्बिनी प्रदेशस्थित थारु समुदायमा आजदेखि अट्वारी अट्वारी पर्व सुरु भएको छ ।

कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो साताको आइतबार र सोमबार अट्वारी पर्व मनाइने प्रचलन रहँदै आएको हो । अट्वारी पर्व आज र भोलि (भदौ ८ र ९ गते) परेको छ । यसैबीच सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा आज १ दिन सार्वजनिक विदा दिएको छन् ।

लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बसोवास धेरै रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिएको दिएको हो । यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको अट्वारी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले थारु समुदायले उल्लासपूर्वक मनाउने बर्का अट्वारी पर्वले सबैमा भाईचारा, एकता र समृद्धिको भावना जागृत होस् भन्ने शुभकामना व्यक्त गरेका हुन्।

ऐतिहासिक र धार्मिक महत्व बोकेको यस पर्व थारु समुदायमा निकै मौलिक ढंगले मनाइन्छ । प्रायः आइतबार नै मनाइने हुँदा पर्वको नाम पनि ‘अट्वारी’ नामाकरण हुन गएको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी बताउँछन् । असत्य माथि सत्यको जीत र नारी सम्मानको प्रतीक नै अट्वारी पर्वको विशेषता रहेको समेत थारुको भनाई छ ।


अट्वारीको ऐतिहासिकता

अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो । अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पण्डवमध्येका माइलो भाई भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेंवा’ को नामले थारु जातिले श्रद्धापूर्वक पूजाआजा गर्छन् ।

कुनैबेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेको किंवदन्ती रहेको छ । सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मचाउने, दुःख दिने, चेलीहरुमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रहिआएको हो ।

अर्को किंवदन्ती अनुसार एक समयमा द्रोपतिसहित पाँच पाण्डवहरु सुर्खेतको काक्रेबिहार घुम्न पुगेका थिए । थारू राजा दंगीशरण र पाँच पाण्डवबीच निकै घनिष्टता बढेको थियो । एक समय, भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे ।

बलवान र प्राक्रमी भीमले टावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरीका मानिसहरु टावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेन । अन्ततः भीमले राजा दंगीशरणलाई सहयोग पश्चात फर्केपछि मात्रै टावाको रोटी झिकेको भनाई छ । उक्त सहयोग गरेको दिन आइतबार परेकोले पनि अट्वारी पर्व आइतबार मनाउने प्रचलन कायम भएको थारु बुढापाकाहरु बताउँछन् ।

मनाउँने विधि र अग्रसनको महत्व
समान्यतयाः अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात ओजर्या (पूर्णिमा) मा पर्दछ । त्यो भनेको कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार हुन आउछ । जुनअनुसार चालु वर्ष भदौ भदौ ८ र ९ गते अट्वारी पर्व परेको हो । आइतबार भन्दा अघिल्लो राति (शनिबार) दर खाने र आइतबार आधा दिनसम्म ब्रत बस्ने गरिन्छ । ब्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ । तर सूर्यास्तपछि खानपान पुरै बन्द गर्नु पर्ने हुन्छ । त्यसपछि, सोमबार विहान्नै पूजापाठ अर्थात ‘फरहार’ गरिन्छ । बनाइएको विभिन्न परिकारहरुलाई दुई भागमा छुट्टाछुट्टै छुट्यान्छ । छुट्याएको भाग चेलीबेटीहरुलाई अग्रासन (कोसेली) स्वरुप दिनको लागि राखिन्छ भने एक भाग ब्रतालुहरुले उपभोग गर्नुपर्छ । जसलाई फरहार भन्ने गरिन्छ । भोजन ग्रहण पश्चात अग्रासन दिन जाने प्रचलन रहेको छ ।

उता विवाहित चेलीबेटीहरु माइती घरको अग्रसनको पर्खाइमा बसेका हुन्छन् । भनिन्छ, विवाहित चेलीहरु माइती घरबाट दाजुभाईले दिन जाने अग्रसनले नै आफ्नो भोक मेट्ने गर्दछन् । विभिन्न परिकारको पोकोसहित अग्रसन दिन जाने दाजुभाई दिदीबहिनीलाई विवाहित चेलीहरु मानसम्मान गर्ने उत्तिकै चलन थारु समुदायमा रहेको छ ।

यो पनि पढौँ