धनगढी : कैलालीको कैलारी गाउँपालिका ८ टेढीका ६० वर्षीय भगवानदास चौधरी आफ्नी दिदी छुनिया देवी थरुनीलाई अग्रासन पुर्याए ।
बचपनदेखि अट्वारी पर्व मनाउँदै आएको सुनाउँदै उनले विधिपूर्वक छुट्याएको खानेकुरासहितको कोशेली रुवरुप अग्रासन पुयाउँदै आएको बताए ।
पुस्तौं–पुस्तादेखि चल्दै आएको संस्कार अनुसार चौधरीले अघिल्लो दिन छोरी तथा दिदी बहिनीको दीघार्यू तथा सु–स्वास्थ्यको कामना गर्दै निराहार ब्रत बसेका थिए । त्यसको भोलिपल्ट आज भदौ ९ गते खानेकुराको कोशेली स्वरुप अग्रासन पु¥याएका हुन् ।
कैलारी गाउँपालिका ६ बेनौलीका सोमलाल डंगौरा थारु (६५)ले आफ्नी विवाहित बहिनीहरुलाई मायाको कोशेली स्वरुप अग्रासन दिन पुगेका छन् ।
दिदीबहिनीहरु अग्रासनको आशामा बसेका हुन्छन् बताउने डंगौराले पुस्तौंदेखि चल्दै आएको रीति अनुसार अग्रासन दिन जान लागेको बताए ।
पश्चिम नेपालको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लामा बसोबास गर्ने थारु समुदायले भदौ ८ गते आइतबार र भदौ ९ गते सोमबार अट्वारी निराहार व्रत बसी पर्व मनाएका छन् । सो पर्व अन्तरगत आफ्ना विवाहित चेली तथा दिदी बहिनीहरुलाई कोशेली दिन जाने प्रचलन थारु समुदायमा रही आएको हो ।
विवाहित चेलीबेटीहरु माइती घरको अग्रासनको पर्खाइमा बसेका हुन्छन् । भनिन्छ, विवाहित चेलीहरु माइती घरबाट दाजुभाईले दिन जाने अग्रासनले नै आफ्नो भोक मेट्ने गर्दछन् । विभिन्न परिकारको पोकोसहित अग्रासन दिन जाने दाजुभाई दिदीबहिनीलाई विवाहित चेलीहरु मानसम्मान गर्ने चलन थारु समुदायमा रहेको बताउँछन् थारु नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरी ।
थारु समुदायमा अट्वारी पर्वलाई नारी सम्मान र भाईचाराको प्रतीकको रुपमा लिने गरेको बताउँदै संयोजक चौधरीले पुरुषहरु महिलाहरुको दीघायूको कामना गर्दै ब्रत बस्ने गरेको सुनाउँछन् ।
अग्रासनको पोकोमा, अण्डिक चामलको रोटी, खरिया, फुलौरी, खुर्मा, भात, माछाको पक्ली (सिद्रा) परिकारसहित, विभिन्न तरकारी, फलफूल रहेको हुन्छ ।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्व बोकेको अट्वारी पर्व धुमधामसँग मनाइएको छ । यसैबीच सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा समेत दिएको थियो ।
अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो । अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पण्डवमध्येका माइलो भाई भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेंवा’ को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ ।
ऐतिहासिक पक्ष
कुनैबेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेको किंवदन्ती रहेको छ । सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मचाउने, दुःख दिने, चेलीहरुमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रहि आएको हो ।
अर्को किंवदन्ती अनुसार एक समयमा द्रोपतिसहित पाँच पाण्डवहरु सुर्खेतको काक्रेबिहार घुम्न पुगेका थिए । थारू राजा दंगीशरण र पाँच पाण्डवबीच निकै घनिष्टता बढेको थियो । एक समय, भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे । बलवान र प्राक्रमी भीमले टावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरीका मानिसहरु टावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेन । अन्ततः भीमले राजा दंगीशरणलाई सहयोग पश्चात फर्केपछि मात्रै टावाको रोटी झिकेको भनाई छ । उक्त सहयोग गरेको दिन आइतबार परेकोले पनि अट्वारी पर्व आइतबार मनाउने प्रचलन कायम भएको थारु बुढापाकाहरु बताउँछन् ।

मनाउँने विधि र अग्रसनको महत्व
समान्यतयाः अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो आइतबार पर्दछ । आइतबार भन्दा अघिल्लो राति (शनिबार) दर खाने र आइतबार आधा दिनसम्म ब्रत बस्ने गरिन्छ । ब्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ । तर सूर्यास्तपछि खानपान पुरै बन्द गर्नुपर्ने हुन्छ । त्यसपछि, सोमबार विहान्नै पूजापाठ अर्थात ‘फरहार’ गरिन्छ । बनाइएको विभिन्न परिकारहरुलाई दुई भागमा छुट्टाछुट्टै छुट्यान्छ । छुट्याएको भाग चेलीबेटीहरुलाई अग्रासन (कोसेली) स्वरुप दिनको लागि राखिन्छ भने एक भाग ब्रतालुहरुले उपभोग गर्नुपर्छ । जसलाई फरहार भन्ने गरिन्छ । विधिपूर्वक सोमबार विहानै पनि पूजापाठ गरेपछि फरहार गरेर भोजन ग्रहण पश्चात अग्रासन दिन जाने प्रचलन रहेको छ ।
पर्वमा अन्डी धानको चामलबाट रोटी, खुर्मा, फुलौरी, बरियालगायत परिकार अनिवार्य बनाइने र सगुनकै रुपमा प्रयोग गर्ने प्रचलन थारु समुदायमा रहिआएको छ ।

