धनगढी : अपाङ्गता भएका आदिवासी जनजातिका व्यक्तिहरुको स्व–सहयोग समूहहरुको लागि स्व–वकालत सम्बन्धी तालिम दिइएको छ ।
कैलालीको धनगढीमा बुधबार नेपाल आदिवासी जनजाति अपाङ्गता संघ (नीडा)को आयोजना तथा एबलिस फाउण्डेसनको सहयोगमा तालिम दिइएको हो ।
नेपाल आदिवासी जनजाति अपाङ्गता संघ (नीडा)का अध्यक्ष खडग बहादुर सारु मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला कुमारी राना रहेकी थिइन् । त्यस्तै, कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका सुदूरपश्चिम अध्यक्ष दलबहादुर घर्तिमगर, नेपाल नेत्रहीन संघका केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष दिलिप चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम इन्चार्ज लख चौधरी, फोनिज कैलाली अध्यक्ष राम दहितलगायतको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण संस्थाका सल्लाहकार तथा अधिवक्ता दिलप्रसाद थापामगर र संस्थाका अध्यक्ष सारु मगरबाट भएको थियो ।
अधिवक्ता थापामगरले यूएन ड्रीप, सीआरपीडी र स्व–वकलत सम्बन्धी र सारु मगरले संस्थाले तयार गरेको स्वेतपत्रबारे सहजीकरण गरेका थिए । तालिममा ३० जनाको सहभागिता रहेको थियो ।
प्रदेश स्तरीय समिति गठन
यसैबीच नीडाको सुदूरपश्चिम प्रदेश स्तरीय समिति समिति गठन गरिएको छ ।
दुर्गा चौधरी (दृष्टिविहीन)को अध्यक्षतामा ७ सदस्यीय प्रदेश समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा विमल कुमाल (स्पाइनल), सचिवमा सरिता चौधरी (शरीरिक), सह–सचिवमा अर्जुन राना (दृष्टिविहीन), कोषाध्यक्षमा गौरीशंकर चौधरी (शरीरिक) रहेका छन् । त्यस्तै, सदस्यमा निलम चौधरी (सुनाइ सम्बन्धी अपाङ्गता)), नरेश चौधरी (दृष्टिविहीन) रहेका छन् ।

