धनगढी : कैलालीको कैलारी गाउँपालिका ४ के गाउँका बतासु चौधरी र बुधराम चौधरी सहोदर दाजुभाई साउन, भदौमै च्याउ उत्पादन गरेर मनग्ये आम्दानी लिन थालेका छन् ।
तराईको जिल्लामा कन्ये च्याउ उत्पादनको उपयुक्त सिजन असोज, कार्तिक महिनादेखि मानिन्छ । तर उनीहरु बैमौसममै च्याउ तयारी गरेर बिक्री वितरण थालेका हुन् ।
बतासु चौधरी राजनीतिमा सक्रिय छन् । नेकपा माओवादी केन्द्रका कैलारी गाउँपालिका अध्यक्ष रहेका उनी राजनीतिसँगै कृषि कार्यमा सक्रिय छन् ।

बतासु चौधरी

के गाउँस्थित सुन्दरपुर टोलमा बतासु चौधरी दाजुभाईले विगत ७ वर्षदेखि न्यू भिजन कृषि फर्ममार्फत करिब ५ कठ्ठा जमिनमा च्याउ खेती गर्दै आएका छन् ।
४ वटा टनेल निर्माण गरेका उनीहरु साउन महिनाको पहिलो सातादेखि नै च्याउको लागि आवश्यक पराल उसिनेर पोको बनाइ टनेलभित्र झुण्ड्याउने कार्य थालेका छन् । फलतः उनीहरु भदौ पहिलो सातादेखि च्याउ उत्पादन गरी बिक्री वितरण थालेका हुन् ।
बतासु चौधरी भन्छन्, ‘दैनिक ४०–५० किलो उत्पादन हुन्छ । सिजनभन्दा अगावै उत्पादन भएको हुँदा भाउ पनि ठीक ठीकै छ ।’
स्थानीय हसुलिया, पच्चीस घर बजारका साथै धनगढी बजारमा बिक्री वितरण गर्दै उनीहरुले थोकमा प्रति किलो ३ सय र खुद्रा प्रति किलो ३५० रुपैयाँको दरले बिक्री वितरण गर्दै आएका हुन् ।
साउनदेखि काम थालेका उनीहरु ३ टनेलमध्ये एउटा टनेलमा १५ सय बल (पोका), अरु दुई वटा टनेलमा ८/८ सय बल राखिसकेका छन् । यो राख्ने काम फागुन–चैत्रसम्म जारी राख्ने बुधराम बताउँछन् ।

एक बलमा सरदर ३ पटकसम्म च्याउ उम्रिन्छ । भने, सरदर एक बलमा ३–४ केजीसम्म च्याउ उत्पादन हुन्छ । उनीहरु एक सिजनमा ६ हजार च्याउ पोका (बल) राख्छन् ।
प्रति बल ३ केजी च्याउ उत्पादन हुने दरलाई आधार मान्ने हो, भने बतासु दाजुभाईको फर्ममा वर्षमा १८० क्वीन्टन बढी च्याउ उत्पादन हुन्छ । भने प्रति केजी औषत २ सय रुपैयाँको दरले हिसाब गर्दा ३६ लाखसम्मको कारोबार गर्दै आएका हुन् । जसको करीब ५० प्रतिशत मुनाफा हुने गरेको बतासु बताउँछन् ।
रोजगारी सिर्जना
व्यावसायिक कृषि कार्यमा जमेका दाजुभाईले आफू मात्रै स्वरोजगार भएनन्, उनीहरुले नियमित ७, ८ जनालाई रोजगारी पनि दिएका छन् ।
बुधराम भन्छन्, ‘मलाई एकछिन पनि फुर्सद हुँदैन । विहानै उठ्यो च्याउ टिप्यो । बजार गयो । आफू नभ्याउने भएपछि बजारमा दुई जनालाई खटाएको छु । यता दिनहुँ पराल काट्नु पर्यो । धोएर उसिन्नु प¥यो । पोलिथिनमा पराल भरेर टाँग्नुपर्यो । यसरी चैत्रसम्म नै जारी राख्नुपर्छ ।’
उनी अगाडि थप्छन्, ‘आफूलाई घरमै भ्याई नभ्याई छ । किन जानु विदेश ? लगनशिल भएर मेहनत ग¥यो भने, यहाँ पैसा छ ।’
पछिल्लो समय बतासु चौधरी कैलारीको हसुलियामा गड्यौला मल उत्पादन, विभिन्न तरकारीका बेर्ना उत्पादन समेत सक्रिय छन् ।


