धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । मंगलबार दिउँसो १२ बजेर १० मिनेटदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो ।
जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सुरक्षाका कारण देखाउँदै निषेधाज्ञा लागू गरेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालका अनुसार सुरक्षाको संवेदनशीलताका कारण धनगढीका केही महत्वपूर्ण स्थानहरूलाई निषेधाज्ञा क्षेत्र घोषणा गरिएको हो ।
धनगढीस्थित प्रदेश प्रमुखको कार्यालय र निवास क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र निवास क्षेत्र, जिल्ला प्रशासन कार्यालय, बसपार्क क्षेत्र, सबै प्रदेश मन्त्रालय र मन्त्रीका निवास, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास क्षेत्र, सरकारी कार्यालय क्षेत्र, राजनीतिक दलका पार्टी कार्यालय क्षेत्र, पुष्पलाल चोक क्षेत्र र डिभोटी होटल चोक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘तोकिएका क्षेत्रमा पाँच जना भन्दा बढीको समूह बनाई हिँडडुल गर्न, कुनै सभा, जुलुस, प्रदर्शन, बैठक वा घेराउ गर्न नपाउने गरी अनिश्चितकालीन निषेधित क्षेत्र घोषणाको आदेश जारी गरिएको छ ।’
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरु भदौ २३ गतेदेखि आन्दोलनमा उत्रिएका हुन् ।

