धनगढी: कैलाली जिल्लामा १३७ भाैतिक संरचना र ६७८ वटा सवारी साधनमा क्षति भएकाे पाइएकाे छ । भदाै २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा ठूलो मात्रामा भवन तथा सवारीसाधनमा क्षति पुगेको हाे ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार १३७ भवन र ६७८ सवारीसाधन तोडफोड वा क्षतिग्रस्त भएका छन्।
प्रशासनको तथ्यांक अनुसार प्रहरी भवनमा ५ वटा क्षति पुगेका छन्। तीमध्ये ३ पूर्णरूपमा नष्ट भएका छन् भने २ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै १२ वटा निजी घरमा क्षति पुगेको छ। जसमा ८ मा आंशिक क्षति पुगेको छ भने ४ मा सामान्य क्षति भएको प्रशासनले जनाएको छ।
सबैभन्दा ठूलो क्षति सरकारी कार्यालयहरूमा भएको छ। कुल १०३ सरकारी कार्यालय प्रभावित भएका छन्, जसमा २ पूर्ण, ७० आंशिक र ३१ मा सामान्य क्षति पुगेको उल्लेख छ।
त्यस्तै, विभिन्न पार्टीका १७ कार्यालय क्षतिग्रस्त भएका छन्। जसमा ११ मा आंशिक क्षति भएको छ भने ६ मा सामान्य क्षति भएको छ।

