शनिबार, जेष्ठ १६, २०८३

सखिया नाचले थारु गाउँ ‘चैनार’

धनगढी : पश्चिम नेपालको थारु बस्तीमा यतिबेला सखिया नाचको रौनक छ । दसैं दीपावलीमा विशेष रुपमा नाचिने सखिया नाचको रौनक बढेको हो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ मजगइ गाउँमा भदौ २५ गतेदेखि सखिया नाचको तयारी सुरु गरिएको थियो । गाउँका भलमन्सा रामु चौधरीको अगुवाईमा सुरु भएको सखिया र झुमरा नाचले गाउँ चैनार (गुञ्जयमान) बनेको छ ।

भलमन्सा चौधरीका अनुसार प्रत्येक दिन बेलुका सखिया र झुमरा नाच प्रदर्शन हुँदैआएको छ । नाचमा ४० जना युवतीहरुको सहभागिता रहँदैआएको छ । भने, १० जना मडरिया –मादल बजाउने) रहेका छन् ।

कैलालीको कैलारी गाउँपालिका ६ बेनौली गाउँमा भने असोज ७ गतेदेखि नै सखिया नाचको तयारी थालियो । शुक्ल पञ्चमी अर्थात असोज ११ गतेदेखि भने परम्परागत थारु पोषाकमै सजिएर सखिया नाचको प्रर्दशन गर्दै गरेका हुन् । नाचमा बजिने मादलको ताल र मञ्जिराको छन्कारले चैनार भएको छ ।

बेनौलीका भलमन्सा पहलमान चौधरी भन्छन्, ‘सखिया नाच मनोरञ्जनको दृष्टिकोणका साथै लोक कला संस्कृतिको दुष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । जसको संरक्षण र प्रवद्र्धनको लागि गाउँमा सखिया नाच गराइरहेका छौ ।’

यतिबेला मजगाइ र बेनौली गाउँमा मात्रै होइन, दसैंको आगमनसँगै पश्चिम नेपालको थारु बस्ती नै आजभोलि सखिया नाचले गुञ्जायमान बनेको छ । सखिया नाचको प्रदर्शनले दसैंको उल्लासको माहोल बढेको हो ।

सामूहिक रुपमा नाचिने सखिया नाचको प्रदर्शनले गाउँमा दसैंको माहोल बढाएको छ । सुनसान हुने गाउँको मोहोललाई उल्लासमय बनाएको हो ।

सामूहिक लोक नृत्यको रुपमा लिइने सखिया नाचका प्रत्येका पात्रहरुको भूमिका रहन्छ । विभिन्न थरीका मादलको तालसँगै गीतिलयमा नाचिने सखियामा मोरिन्या (गुरुमा) र पच्गुनिया (सहायक गुरुमा) मार्फत गीतिनृत्य नाचिन्छ । थारु संस्कृति विद अशोक थारुका अनुसार सखिया नाच्ने र गाउने विधि र प्रक्रियाहरु आफ्नै प्रकृतिको छ ।

यद्यपी, पछिल्लो समय समयको अनुकुुलता र प्रतिकुलतालाई मध्येनजर गरी समय छोट्याएको पाइन्छ । सखिया नाचको रिहल्सलपछि दसैंको टीकाको दिन विशेष रुपमा नाच्ने गरिन्छ ।

जुनकारण सखिया नाचलाई दसैंको अभिन्न अंगको रुपमा लिइन्छ । सखिया नाच विना दसैंको माहोल नै फिक्का हुने थारु बृद्धिजीविको कथन छ ।

लोक संस्कृति विद थारुका अनुसार दसैंको अवधिमा सखिया र पैंयाँ नाच विशेष रुपमा नाचिन्छ । नाच्नका लागि युवतीहरुको समूहमा १ जना अगुवा (मोरिन्या) रहने र मादल बजाउने युवाहरुमा पनि १ जना अगुवा हुन्छन् । यो नाचमा भगवान श्रीकृष्णको जन्मदेखि मृत्युसम्मको लीलामा आधारित गीत गाइन्छ ।

सखिया के हो ?
सखिया शब्द ‘सखींआ’ बाट बनेको हो । यसको अर्थ साथी वा संगिनी हो । यो शब्द कान्हा (कृष्ण) र राधा अथवा राधा र उनका संगिनीको सन्दर्भमा आएको हो । नेपाली लोकवार्ता तथा संस्कृति समाजबाट प्रकाशित थारु लोकवार्ता तथा लोकजीवन पुस्तकका अनुसार दसैंको खुसियालीमा संगिनीहरु आऊन्’ भन्ने अर्थमा ‘सखिया’को प्रयोग भएको हो ।

सखिया थारु लोकभागवत पुराण हो । दसैंमा थारु जातिका महिलाहरुले सामूहिक रुपमा गाइने काव्य कोटीमा पर्ने संस्कृति विद थारु बताउँछन् । जसको आरम्भ नै समरौटीबाट हुन्छ ।

डानु डाडा डानु री डाडा डानुु. डरिउना भली र
सखी र डानु री डाडा डरीउना री कहिले
टोही मैं सामिरौं सरस्वती मैयाँ
सखी र सरस्वती मैयाँ स्यावा री मोरी लेओ
पैंयाँमा कृष्ण र गोपिनीको प्रेम गाथा

सो पुस्तकमा उल्लेख भएअनुसार दसैंको अवधीमा तथा सखिया नाचको बीच–बीचमा पैंयाँ नाच पनि नाचिन्छ । थारु भाषामा पैंयाँलाई ‘पैंयाँ लग्ना’ अर्थात पैंयाँको अर्थ पाउ लागी’ वा समर्पित हुनु हो । खासमा गोपिनी रुपी बठिनियाहरु (युवतीहरु) र कृष्ण रुपी मड¥या (मदाल बजाउने यूवा) एकअर्काप्रति समर्पित हुनु भन्ने सन्दर्भमा आएको बताइन्छ ।
सो पुस्तकका लेखक समेत रहेका लोक संस्कृति विद थारु भन्छन्–‘पैंयाँलाई कृष्ण र गोपिनीबीचको रसलीला झल्काउने चरणको रुपमा लिइन्छ । यो मुलतः गीतहिन सामूहिक नृत्य हो ।’

एनरी बाहाँस हो काटी कमवा सिटैबु
कमवा सिटैबु मै पिन्जला बनैबुँ
पिन्जला बनैबु मै सारी सुगा पलबु
वचनक बिनल पिन्जला कबु रे जिनी टुट
टुटीगिल पिन्जला रे मोर उरिगिल सुगिना

पुस्तकका अनुसार प्रस्तुत पैंयाँ गीतमा सारी–सुगा प्रेमपात्रका प्रतीकको रुपमा लिइएको छ । पिँजडा प्रेमको प्रतीक हो । गीतमा औंलो काटेर कलम बनाउने र रगतको मसीले प्रेमपत्र लेख्ने सन्दर्भ आएको छ ।

पछिल्लो समय पैँयाँलाई नाचलाई आधुनिकीकरण गरिएको पाइएको छ । यसलाई आधुनिक सखियाको नामले पनि चिनिन्छ । यसमा गाइने गीतहरु समेत आधुनिक ढंगले समेत रचना गरिएको थारु संस्कृतिका जानकारहरु बताउँछन् ।

त्यस्तै पैंयाँ २२ प्रकारको हुने भए पनि हाल मडरियाहरुले आफैं नयाँ सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएका छन् । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरु खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् । यो नृत्य हेर्न थारु गाउँहरुमा निकै भीड लाग्ने गरेको छ ।

यो पनि पढौँ