धनगढी : दसैंलाई डसियाको नामले निकै पृथक ढंगले पर्व मनाइने प्रचलन रहेको पश्चिम नेपालको थारु समुदायले मंगलबार ढिक्रहुवा मनाएका छन् ।
चामलको पिठोको विभिन्न आकृतिहरु प्रसादको रुपमा ढिक्री बनाएर आफ्नो कुल देवतालाई चढाएर पर्व मनाएका हुन् ।
थारु संस्कृति विद डा. गोपाल दहितका अनुसार थारु समुदायको डसियाको तिथि अनुसार असोज १३ गते पैनस्टोपी ढोइना अर्थात ढिक्री (चामलको विशेष परिकार) बनाउने उपकरण धुने दिन थियो । त्यसको भोलिपल्ट १४ गते ढिकरहुवा (ढिक्रि उत्सव) परेको हो ।
ढिकरहुवाको उत्सवको तयारी विहानैदेखि सुरु हुन्छ । घरको मुुली अथवा पूजापाठ गर्ने व्यक्ति दिनभरी निराहार व्रत बसेका हुन्छन् ।

उनीहरुले नै नयाँ धानको चामलको पिठो बनाइ ढिकरी बनाउँछन् । साथै विभिन्न आकार प्रकारका ढिक्री बनाइ प्रसादको रुपमा आफ्नो कुल देवतालाई चढाउने प्रचलन रहेको बताइन्छ । खासगरी गोलो ढिक्री, लाठी ढिक्री, काठी बोझा ढिक्री, पौवा ढिक्री, ढकिया ढिक्रीलगायत आकार प्रकारको ढिक्री बनाइन्छ । पूजापाठको लागि वनबाट बेलको पातसहितको हाँगा, कुश, भेला (रुख)को पात ल्याइन्छ ।

दिनभरि निराहार व्रत बसेका व्रतालुहरु साँझपख विधिपूर्वक ल्याएको बेलको हाँगा पूजाकोठामा गाडेर त्यसको काँडामा ढिक्रीहरु लहरै उनेर कुल देवताको पूजापाठ गर्ने संस्कार रहेको कैलारी गाउँपालिका–६ बेनौलीकी चोंधिया देवी थरुनी बताउँछिन् ।

त्यस्तै, थारु संस्कृतिका जानकार तथा साहित्यकार छविलाल कोपिला भन्छन्–‘साँझ डेहुरार रहेका र बाहिर रहेका सबै देउताहरुलाई नुहाएर छिनोनि पानी छर्केर नयाँ दियो बाल्छन् र गोलो ढिक्री, बेब्री (बाबरी), जमरा, रक्सी (टौला र बजारि) र जल चढाएर पूजा गर्छन् । देउता भएको घरका मान्छेले भेंडाको प्रतीकको रुपमा कुपिण्डोको भेंडा बनाएर त्यसकै पूजा गर्छन् । गोठमा ढरमराज, पूर्वको आँगनमा ‘पूर्वी’ लगायत अन्य देउताहरुलाई पूज्दछन् । पूजा गर्नेबेला बानढुप पनि चढाउँछन् र सिन्दुर र कजरा (खरानी)को टीका पनि लगाउँछन् ।’

पूजापाठ गरिसकेपछि आफन्त, इष्टमित्रसहित रमाइलो गरी ढिक्रहुवा मनाइने प्रचलन रहिआएको हो ।
