शनिबार, बैशाख ५, २०८३

कैलारीका विलासिताका शौकिन अध्यक्ष, सरकारी खर्चमै घरमा जडान गराएका थिए महँगा एसीहरु

हसुलिया : कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सरकारी खर्चमै आफ्नो निजी घरमा ३ वटा महँगा वाताअनुकूलित यन्त्र (एसी) सहित अन्य यन्त्र उपकरणहरु जडान गरिएको पाइएको छ ।

उसै पनि करोडपति पृष्ठभूमिका अध्यक्ष चौधरीले सरकारी खर्चमै आफ्नो घरमा एसीहरु जडान गराएको भेटिएको हो ।

भदौ २३ र २४ गते जेनजी पुस्ताहरुको आन्दोलन भयो । आन्दोलनको क्रममा आन्दोलनकारीहरु भदौ २४ गते गाउँपालिका कार्यालय, गाउँपालिका मातहतका ९ वटै वडा कार्यालयमा आगजनि गरे । योसँगै आन्दोलनकारीहरु पालिका अध्यक्ष चौधरीको घरमा समेत तोडफोड गरे ।

पालिकाले क्षतिको विवरण संकलन गरेको छ । क्षतिको विवरणभित्र पालिकाले गाउँपालिका अध्यक्ष चौधरीको निजी निवासमा जडान गरिएको महँगा विलासिताको उपकरण समेत जलेर नष्ट भएको विवरण भटिएको हो ।

पालिकाले अक्षरल्याबलाई उपलब्ध गराएको क्षतिको विवरण अनुसार ए.सी. (ग्री १ टन) २ थान, ए.सी. (ग्री १.५ टन) १ थान, ब्याट्री (भोल्टा २०० ए.एच.) २ थान, सिलिङ पंखा ४ थान र इन्भर्टर ३२० भि.ए. १ थान जलेर नष्ट भएको हो ।

गाउँपालिका उपाध्यक्ष भागवती चौधरीले पनि आफ्नो घरमा लगेको सरकारी सवारी साधनसहित यन्त्र उपकरणमध्ये केही जलेको र केही हराएको पाइएको छ । प्राप्त विवरण अनुसार उपाध्यक्ष चौधरीले प्रयोगको लागि घर लगेको से १ ब १२१७ नम्बरको स्कुटी आन्दोलनकारीले जलाएका थिए । त्यस्तै, उनलाई पालिकाले उपलब्ध गराएको १ थान ल्यापटप, १ थान मोबाइल र १ थान पावर बैंक हराएको पालिकाको विवरणमा उल्लेख छ ।

पालिकाको क्षतिको विवरण सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षले आफ्नो निजी निवासमा सरकारी खर्चमा जडान गराएका विलासिताको सामानबारे टिकाटिप्पणी सुरु भएको छ ।

यो पनि पढ्नुहोस्

जेनजी विद्रोह : कैलारीमा ठूलो क्षति, हेर्नुहोस पुरा विवरण

यो पनि पढौँ