हसुलिया : कैलालीको कैलारी गाउँपालिकामा संकलन हुने मालपोत करको पैसामा कर्मचारी र जनप्रतिनिधीको मनलाग्दी हुने गरेको पाइएको छ ।
संकलन हुने मालपोत करबाफतको रकम समयमा बैंक दाखिला नगरी आफू खुशी राख्ने गरेको भेटिएको हो ।
समयमा दाखिला नहुँदा कैलारी गाउँपालिकाको ३ नं. वडा कार्यालयमा आगजनि हुँदा मालपोत करबाफत संकलन भएको पैसा पनि जलेको तथ्य खुलेको हो ।
पालिकाको ३ नं. वडाका सचिव दयाराम चौधरीले २ लाखको हराहारीमा रकम जलेको स्वीकार गरेका छन् । आफुले कार्यालय सहयोगी विष्णुकुमारी चौधरीलाई जिम्मा लगाएको र जलेपछि मात्रै थाहा भएको अक्षरल्याबलाई बताए ।
भदौ २३ र २४ गते जेनजी पुस्ताहरुको आन्दोलन भयो । आन्दोलनको क्रममा आन्दोलनकारीहरु भदौ २४ गते गाउँपालिका कार्यालय, गाउँपालिका मातहतका ३ नं. वडा कार्यालयसहित ९ वटै वडा कार्यालयमा आगजनि गरे । सोही क्रममा जनताले तिरेको मालपोत बाफतको रकम पनि जलेर खरानी भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले संकलन हुने रकम समयमा बैंक दाखिला गर्नुपर्ने बताउँछन् । जलेको रकमको जिम्मेवारी सम्बन्धित वडा सचिवले लिनुपर्ने र उनीबाट असुल उप्पर गरिने प्रमुख प्रशासकीय अधिकृत जोशीको भनाइ छ ।
वडा कार्यालय र हसुलिया बजारस्थित दाखिला हुने बैंकबीचको दुरी मोटरसाइकलमा १५ मिनेटको रहेको छ । तर समयमा दाखिला नगर्ने गरेको पाइएको हो । पालिकाले वडा कार्यालयहरुलाई एक महिनाभित्र बैंक दाखिला गर्नुपर्ने समय सीमा तोकेको छ । एक महिनाको अवधिमा संकलन हुने रकम जनप्रतिनिधि वा कर्मचारीकै खल्तीमै हुने नगरेको पालिकाकै एक कर्मचारीले अक्षरल्याबसँग भने ।
