धनगढी । गत भदौ २३ गतेको जेनजी पुस्ताको आन्दोलन र २४ गतेको प्रदर्शनका क्रममा भएको आगजनि र तोडफोड घटनाको जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगको टोलीलेमा अनुगमन थालेको छ ।
आयोगका सदस्य विशेश्वर प्रसाद भण्डारीको नेतृत्वमा आएको टोलीले शुक्रबारदेखि कैलालीमा अनुगमन थालेको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालतलगायतका कार्यालयहरूको स्थलगत अनुगमन गर्दै सम्बन्धित निकायहरूसँग अन्तरक्रिया गरेको हो ।
अनुगमनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्य भण्डारीले आयोग देशभरका प्रतिनिधिमूलक स्थानहरूमा पुगेर घटनाको वास्तविक अवस्था बुझिरहेको जानकारी गराए ।
उनले तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग सर्वत्र उठेको उल्लेख गर्दै दण्डहीनताले प्रश्रय नपाओस भन्ने आफूहरुकोे प्राथमिकता रहेको बताए ।
भण्डारीले घटनाका पीडितहरूमा अझै न्याय नपाइने डर रहेको जानकारी दिँदै आयोगले निष्पक्ष छानबिनमार्फत सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । कर्णाली प्रदेश राजधानी सुर्खेतमा अनुगमन सकेर टोली कञ्चनपुर हुँदै कैलाली पुगेको हो ।
