शनिबार, बैशाख ५, २०८३

थारु बस्तीमा भलमन्सा शासन : धमाधम बाली उठाइदै, गर्भको बच्चाको पनि हिस्सा !

धनगढी : कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका भलमन्सा पहलमान चौधरी र चौकीदार गया प्रसाद चौधरीले एक वर्ष सेवा गरेबाफत गाउँलेबाट ४७ हजार ६ सय रुपैयाँको दरले बाली (पारिश्रमिक) पाए ।

२७२ घरधुरी रहेको बेनौलीमा प्रति घरधुरी ३५० रुपैयाँका दरले हालै बाली संकलन गरियो । उठेको आधा रकम भलमन्सा र आधा रकम चौकीदारलाई दिइयो ।

गाउँ प्रमुख भलमन्सा र खबर बाहकको जिम्मेवारी निर्वाह गर्ने चौकीदारले मात्रै होइन सो गाउँमा पूजापाठ गर्ने गुरुवा र सहायक गुरुवा केसौकाले पनि बाली पाए । गाउँलेहरुले प्रतिघरधुरी साढे १७ किलोका दरले धान र साढे २ किलोको दरले चामल एकमुस्त दुबै जनालाई बाली बुझाए । अर्थात एक जनाले करिब सालाखाला ८० हजार रुपैयाँ वार्षिक पारिश्रमिक बुझे ।

बेनौलीका भल्मन्सा पहलमान चौधरीले भने–‘थारु समुदायको भलमन्सा प्रणाली सदियौंदेखि प्रचलित प्रथा हो । यो प्रथाभित्र आफ्नै नियमहरु हुन्छन् । प्रथालाई अस्तित्वमा राख्न गाउँको सेवामा खट्ने व्यक्तिहरुलाई पारिश्रमिक स्वरुप बाली दिने चलन चल्दै आएको छ ।’
बाली संकलन कार्य सो वस्तीमा मात्रै होइन, आजभोलि पश्चिम नेपालको प्रायः थारु वस्तीमा धमाधम भैरहेको छ । धान बाली भित्र्याइसके यता सो कार्य भैरहेको हो । तर बालीको दर भने गाउँ पिच्छे फरक–फरक हुन्छ । गाउँको सल्लाह अनुसार हुन्छ ।

कैलालीको धनगढी उपमहानगरपालिका ९ बंगराका स्थानीयहरु पनि बाली संकलन गरिरहेका छन् । सोमबार बाली संकलन गरिरहेको भलमन्सा रामनारायण चौधरीले बताए । भलमन्सा चौधरीका अनुसार ११० घरधुरी रहेको बंगरामा गाउँको प्रति व्यक्तिको दरले बाली उठाइन्छ ।

गाउँलेहरु ६ केजी धान प्रति व्यक्तिको दरले उठाउने तयारीमा छन् । सकलन भएको जम्मा बाली मध्ये डेढ क्वीन्टल धान तिहाइ उठौनी अर्थात गाउँलेहरुलाई जान्छ । जसबाट गाउँलेहरु मिझ्नी (खाजा) खान प्रयोग गर्छन् । बाँकी रहेको धान चौकीदार र देशबन्ध्या गुरुवालाई बराबर बाँडेर दिन्छन् । यसरी वर्षमा सालाखाला ३०÷३५ क्वीन्टल धान पारिश्रमिक पाउने गरेको भलमन्सा चौधरीले बताउँछन् ।

भलमन्सा रामनारायण भन्छन्, ‘हाम्रो यहाँ पहिलैदेखि प्रति व्यक्तिको दरले बाली उठाइन्छ । आमाको पेटमा रहेको बच्चालाई गणना गरेर उसको भाग पनि दिइने चलन छ । किनकी उ बस्तीको सदस्य हो । उसको सुख–दुःखमा पनि समाजको योगदान रहन्छ ।’

बंगराका गाउँलेहरुले गाउँमा हुने सामूहिक पुजापाठको लागि प्रति घरधुरी २ सय रुपैयाँका दरले वर्षमा एक पटक उठाउँछन् । जुन रकम भलमन्सालाई जान्छ ।

धनगढी उपमहानगरपालिकामा ११२ जना भलमन्सा छन् । सबै भमन्साहरु बाली संकलनको तयारीमा रहेको नगर भलमन्सा समितिका अध्यक्ष रोहित चौधरी बताउँछन् ।

पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा बरघर तथा भलमन्सा प्रथा कायम छ । सो प्रथा अनुसार भलमन्सा, बरघर, गुरुवा, केसौकालाई बाली दिने प्रचलन पनि कायमै रहेको हो ।

बरघर भलमन्सा प्रथा थारु समुदायमा स्थापित प्रथा हो । प्रथा अनुसार थारु समुदायमा बरघरले निश्चित समयका लागि समाजबाट कार्यकारी प्रमुखको जिम्मेवारी पाएका हुन्छन् । माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको थारु समुदायमा माघी पर्व मनाइसके लगत्तै माघी डेवानी कार्यक्रम आयोजना गरी बरघर चयन गर्ने र वर्षभरिका लागि कार्ययोजना बनाउने कार्य हुन्छ । समुदायको वार्षिक कार्यायोजनाभित्र समुदायको नेतृत्वकर्तालाई बाली दिने वा नदिने तथा बालीको दररेट तोक्ने कार्य सर्वसहमतिले पारित गरिन्छ ।

थारु समुुदायमा बरघर÷भलमन्सा, चिराकी÷चौकीदार, गुरुवा र केसौकाहरुको नेतृत्वदायी भूमिका रहँदै आएको छ । गाउँभित्रको पानी पँधेरो, सडक, सिँचाइ कुुलो, पुल पुलेसो निर्माण तथा मर्मत सम्भारदेखि जन्म, विवाह, मृत्यु संस्कारसम्ममा भूमिका रहन्छ । गाउँमा भैपरि आउने झै–झगडा मिलाउने कार्य समेत बरघरकै रोहबरमा हुँदै आएको छ ।

यो पनि पढौँ