बुधबार, बैशाख २, २०८३

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा चरम बदमासी, फर्जी ठेली बनाएर लाखौं रकम गायब !

हसुलिया : कैलालीको कैलारी गाउँपालिकामा नदीजन्य पदार्थ (बालुवा) को रोयल्टीबाफत संकलित रकममा व्यापक हिनामिना भएको पाइएको छ ।

गाउँपालिकाको वडा नं. ९ स्थित घुराहा नदीको गदरिया घाटदेखि माथि सिमराना, कोइलही, सामरचौराका साथै अन्य वडाबाट बालुवा उत्खनन हुँदैआएको छ । गाउँपालिकाले केही वर्ष अगाडिसम्म रोयल्टी संकलनको लागि ठेक्का दिएको थियो । तर पछिल्लो केही वर्षयता गाउँपालिकाले आफै ज्यालादारी अस्थायी कर्मचारी नियुक्त गर्ने गरेको छ ।

ती कर्मचारीहरुबाट संकलित राजश्वमा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी निकटका केही व्यक्तिले मनलाग्दी ब्यापक रुपमा हिनामिना गरेको तथ्य बाहिर आएको हो । यहाँसम्मकी फर्जी ठेली जारी गरेर लाखौं रकम गाउँपालिकामा दाखिला नहुँदै बीच बाटोबाटै गायब हुने गरेको समेत स्थानीयको दाबी छ ।

आर्थिक वर्ष २०८०/२०८१ र २०८१/२०८२ मा कोइलही–सामरचौरा घाटबाट उत्खनन हुने बालुवाको रोयल्टी संकलनको लागि गाउँपालिकाले कोइलही गाउँका स्थानीय लाहुराम चौधरी र गदरिया घाटको लागि गदरिया गाउँकी रञ्जिता रानालाई ज्यालादारीमा अस्थायी रुपमा नियुक्त गरेको थियो ।

रोयल्टी संकलक लाहुराम चौधरीले आर्थिक वर्ष २०८१/२०८२ मा मात्रै आफूले १२ लाख १२ हजार ५ सय रुपैयाँ बुझाएको बताउँछन् ।

उनले अक्षरल्याबसँग भने, ‘मैले २५ ठेलीको रसिद काटेको थिए । प्रति रसिदको दर ९६० रुपैयाँ हो । मैले प्रति ठेलीको ४८ हजार ५ सय रुपैयाँको दरले २५ ठेलीको १२ लाख १२ हजार ५ सय रुपैयाँ गाउँपालिकाबाट आउने जितेन्द्र चौधरी र राजु बराललाई बुझाए । उनीहरु नै ठेली ल्याइदिने र पैसा लैजाने काम गर्थे ।’

जितेन्द्र चौधरी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीका स्वकीय सचिव हुन् भने बराल नेपाली कांग्रेसका कैलाली निर्वाचन क्षेत्र नंं ३ का क्षेत्रीय सदस्य हुन् ।

स्थानीयवासीले सामरचौरा–कोइलही घाटभन्दा बढी गदरिया घाटबाट बालुवा उत्खनन भएको दाबी गरेका छन् । कोइलहीका भलमन्सा लौटन चौधरीका अनुसार गदरिया घाटबाट सबैभन्दा बढी बालुवा उत्खनन हुने गरेको छ । जहाँबाट आव २०८१/२०८२ मा १८ लाखदेखि २५ लाखको हाराहारीमा रोयल्टी संकलन भएको दाबी स्थानीयहरुको छ ।

तर गदरिया घाटमा रोयल्टी संकलनमा नियुक्त गरिएकी रानाले भने सुरुमा रोयल्टीबारे बोल्नमा आनाकानी गर्दै रोयल्टी संकलनमा आफुलाई जानकारी नभएको बताइन् । तर बुझ्दै जाँदा उनले गत आव ५ ठेली अर्थात २ लाख ४२ हजार ५ सय रुपैयाँ संकलन भएको र सो रकम जितेन्द्र चौधरी र बराललाई बुझाएको खुलाइन् ।

तर रानाको भनाइमा कैलारी गाउँपालिका ९ गदरियाकै भलमन्सा रामदिन चौधरी आशंका व्यक्त गर्छन् । स्थानीयले आव २०८१/२०८२ मा दुई जना संकलकले मात्रै २५ लाखदेखि ३० लाखसम्मको रोयल्टी संकलन गरेको दाबी गरेका छन् । गदरिया घाटकी रोयल्टी संकलक रानाले आव २०८१/२०८२ मा ३७ वटासम्म ठेली काटेको दाबी स्रोतको छ ।

उता गाउँपालिकामा २०८१/२०८२ मा ३ लाख २१ हजार ३१० रुपैयाँ मात्रै रोयल्टीबाफतको राजश्व दाखिला भएको गाउँपालिकाका राजश्व शाखा प्रमुख लाहुराम चौधरी बताउँछन् ।

संकलन हुने रकम र गाउँपालिकामा दाखिला हुने रकममा ठूलो अन्तर देखिएपछि स्थानीयहरु ठूलो बदमासी भएको दाबी गरेका छन् ।
गदरियाका भलमन्सा रामदिन चौधरीले सबैभन्दा बढी बालुवा उत्खनन आफ्नै गाउँ गदरियाघाट हुने गरेको तर रोयल्टीको रकमको कुनै पारदर्शिता नहुँदा रकममा ठूलै तलमाथि भएको आशंका व्यक्त गरेका छन् ।

गाउँपालिकाको वडा नंं ६ खरुवाखेरा घाट र वडा नंं ४ भित्तरियाघाटबाट समेत बालुवा उत्खनन हुने गरेको छ । तर त्यसबारे गाउँपालिका बेखबर बनेको छ ।

फर्जी ठेलीको आशंका
गाउँपालिकाको राजश्व शाखाको अभिलेख अनुसार २०८१/२०८२ मा ७ वटा ठेली मात्रै रोयल्टी संकलनको लागि जारी गरेको देखिन्छ । तर फिल्डमा रहने प्रति रोयल्टी संकलकको हातमा एकै वर्षमा २५ वटा भन्दा बढी ठेली कसरी पुग्यो ? कतै फर्जी ठेलीको प्रयोग त भएन भन्ने आशंका जन्माएको छ ।

कोइलही–सामरचौरी घाटका रोयल्टी संकलक लाहुराम चौधरीले खुलेरै आफू कहाँ फर्जी ठेली आउने गरेको स्पष्ट पारेका छन् ।
उनले भने, ‘उहाँहरु (जितेन्द्र र बराल)ले ठेलीहरु ल्याइदिनुहुन्थ्यो । धेरै ठेलीको रसिदको नम्बर एउटै हुन्थ्यो । आफ्नो काम त रसिद काट्ने मात्रै त थियो ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी भने, संकलन हुने रोयल्टी, कार्यालयमा दाखिला हुने रोयल्टी बाफतको राजश्वबारे अनभिज्ञता प्रकट गरेका छन् । उनले रोयल्टी संकलकबाट पैसा बुझ्ने गाउँपालिका अध्यक्ष चौधरीका स्वकीय जितेन्द्र चौधरी र राजु बराल अधिकारिक व्यक्ति नभएको र पैसा बुझ्ने अधिकार समेत नरहेको स्पष्ट पारे ।

गाउँपालिका अध्यक्ष चौधरीका स्वकीय सचिव जितेन्द्र चौधरी आफूलाई रोयल्टीको सबै रकमबारे जानकारी नभएको तर आफुलाई बुझाएको रकम भने गाउँपालिकामा दाखिला गरेको बताए।

यो पनि पढौँ