धनगढी । कैलालीको धनगढीमा शुक्रबार नेपाली कम्युनिष्ट पार्टीले पहिलो एक सन्देश सभा गरेको छ ।
जेनजी विद्रोहपछि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित स–साना १५ वामपन्थी घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले शक्ति प्रर्दशनसहित सभा गरेको हो । सभाका अधिकांश शिर्ष वक्ताले अन्तरिम सरकारले घोषणाको निर्वाचनको तयारीमा लागेको बताउँदै पार्टीलाई एक नम्बर बनाउने दाबी गरेका छन् । भने उनीहरु नेकपा एमालेको आलोचनामा समय खर्चिका थिए ।
पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने, ‘हिजोको संसद विघटन गर्ने कर्ता अहिले पुनस्र्थापना गर्नुर्ने भनिरहेको छ । कस्तो उल्टो बुद्धि ? हिजो विघटन गर्ने, अहिले चुनाव हुने भयो भनेपछि संसद् पुनस्र्थापना भन्ने । जतिबेला पनि उल्टो बाटो हिँडेर नेपाली जनतालाई दुःख दिने, नेपाल राष्ट्रलाई दुःख दिने अहंकारी, दम्भीलाई राम्रो सबक सिकाउने बेला यही हो ।’
उनले एमाले अहिले चिसै पानीले नुहाउने गरी दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेकाले बाहिर धाकधम्की दिनुको कुनै अर्थ नभएको समेत टिप्पणी गरे ।
सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टीलाई पहिलो नम्बरमा आउन कसैले रोक्न नसक्ने दाबी गरे । जेनजीका असली अभिभावक आफूहरू नै भएकाले पार्टीप्रति युवाहरूको आकर्षण बढ्दै गएको उनले जिकिर गरे ।
कार्यक्रममा सहसंयोजक माधवकुमार नेपालले ओलीप्रति लक्षित गरी रावणसँग तुलना गरे । आफूहरूलाई रामसँग तुलना गर्दै सबै नेता उस्तै(उस्तै हो भन्ने भाष्य गलत भएको नेपालले बताए ।
जेनजी विद्रोहको बेला संयोजक प्रचण्ड र आफू राष्ट्रपति निवासमा रातभर बसेर विषम संकटको समाधान गर्न पहल गरेको उनले जिकिर गरे । जेनजीका एजेन्डा र भावनाको कदर नेपाली कम्युनिस्ट पार्टीले मात्र गर्न सक्ने दाबी गर्दै नेपालले आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउन भूमिका खेल्न नेता कार्यकर्तालाई आग्रह गरे ।
नेता भीम रावलले जेनजी आन्दोलनका बेला राष्ट्रिय सुरक्षा परिषद् बैठक समेत बोलाउन नसकेर बालुवाटारबाट भागेका ओलीले गुन्डुबाट हुङ्कार गरेकोप्रति कटाक्ष गरे ।
‘राष्ट्रिय सुरक्षा परिषद् बैठक समेत बोलाउन नसकेर हेलिकप्टर भाग्नेले केपी ओलीले अहिले गुन्डुको एउटा दुलामा बसे हुङ्कार गरिरहेका छन । अहंकारी दम्भीलाई ठीक ठाउँमा ल्याउने नेपाली कम्युनिस्ट पार्टी हो । अब हाम्रो पार्टीलाई एक नम्बर बन्नबाट रोक्न कसैले सक्दैन’, उनले भने ।
राष्ट्रिय संकटको एक मात्र निकास निर्वाचन भएकाले चुनावी वातावरण बनाउन रावलले सरकारसँग आग्रह गरे ।
पूर्वमन्त्री तथा नेता गिरिराजमणि पोखरेलले जेनजीले उठाएका मुद्दा जायज भएको बताए । उनले ओलीकै कारण राष्ट्र संकटमा फसेकाले आफ्नो पार्टीले मात्र राष्ट्र संकटको समाधान गर्न सक्ने जिकिर गरे ।
‘नवयुवा जेनजी पुस्ताले गरेको आन्दोलन जायज थियो । उनीहरूले देखेको सपना पूरा गर्नुपर्छ । तपाईंहरूको आन्दोलनलाई सबैभन्दा पहिले समर्थन गर्ने पार्टी नै हामी हौँ । केपी ओलीको अहंकारले गर्दा देशमा संकट आयो । राष्ट्रियताको रक्षा र जेनजीको मुद्दा हाम्रो पार्टीले मात्र गर्छ,’ पोखरेलले भने ।
भर्खर मात्र एमाले परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका पूर्वकेन्द्रीय सदस्य प्रकाशबहादुर शाहले सुदूरपश्चिमेली गीत मार्फत् नै ओलीप्रति कटाक्ष गरे । ओलीको अहंकारले एमालेमा पहिरो गइरहेको उनले जिकिर गरे ।
‘केपी ओलीको अहंकारले एमालेमा पहिरो गइरहेको छ । ओली नेतृत्वमा आएपछि पार्टी विभाजन भएको छ । नेपालीको गुनले नपुगेर जेनजीको खुन चाहियो,’ उनले भने, ‘तानाशाही बिरालोलाई कठालो समाएर नेपालीलाई न्याय दिन सक्ने नेपाली कम्युनिस्ट पार्टी हो ।’
