धनगढी : स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणको उदेश्यले आयोजना हुँदैआएको सुदूरपश्चिम महोत्सवमा महुवाको डारु (रक्सी)को स्वाद लिन पाइने भएको छ ।
महोत्सवमा विभिन्न जातजाति, समुदायको कला, संस्कृति, परम्परा, खानपानको बिजोड प्रस्तुती र आकर्षण रहने गरेको छ । योसँगै स्थानीय थारु जातिले बनाइने महुवाको रक्सी पनि महोत्सवमा खान पाइने भएको हो ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले भने, ‘हामी महोत्सवमार्फत स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दैआएका छौ । थारु जातिको खानपान, रहनसहनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ ? त्यसमा हामी लागेका छौ । थारु जातिको कुल देवतालाई समेत चढाइने महुवाको रक्सी पनि ‘डिसप्ले’मा राख्न सकिने व्यवस्था मिलाएका छौ ।’
महुवाको रक्सी खरिद बिक्री गर्न पाइने भएपनि अरु ब्राण्डका रक्सी तथा मादक पदार्थ राख्न भने नपाइने अध्यक्ष ओझाको भनाइ छ । महुवा शक्तिवर्धक जडीबुटीको रुपमा रहेको बताइन्छ । महुवाको फूललाई संकलन गरि सुकाउने र आवश्यक परेको बेला त्यसलाई प्रशोधन गरि रक्सी बनाउने प्रचलन थारु समुदायमा रहिआएको हो ।
महोत्सवमा थारु भिलेज पनि रहने भएको छ ।
पर्वझै स्थापित महोत्सव
कैलाली उद्योग वाणिज्य संघले २०६३ सालमा कैलाली महोत्सव आयोजना गरेको थियो । त्यसयता निरन्तर सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ ।
सुदूरपश्चिम महोत्सव अहिले पनि पर्वझैँ लाग्छ । महोत्सवको १९ औँ संस्करण मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने भएको हो । महोत्सव वर्षेनि एउटै मितिमा लाग्ने भएको हुँदा पर्वझै स्थापित हुन पुगेको छ ।
संघका अध्यक्ष ओझाले यस पटकको महोत्सव अघिल्लो वर्ष भन्दा अझै भव्य र आकर्षक हुने बताए । स्थानीय उत्पादन र प्रदेशको संस्कृतिलाई राष्ट्रिय स्तरमा पुराउन महोत्सवले ठूलो भूमिका खेल्ने उनको भनाइ थियो ।
‘हामी महोत्सवको अन्तिम तयारीमा छौँ । यस पटक स्थानीय उत्पादन र प्रदेशको संस्कृतिलाई बढी महत्व दिएका छौँ’ उनले भने, ‘यो महोत्सव सुदूरपश्चिमको पर्व हो । हामी वार्षिक उत्सव र पर्वझैँ मनाउने तयारीमा छौँ ।’
यस्ता छन् विशेषता
महोत्सवमा ५५० बढी स्टलहरू रहने छन् । ती मध्ये अधिकांश स्थानीय उत्पादन र घरेलु उद्योगलाई प्राथमिकता दिइएको महासचिव समेत रहेका महोत्सव प्रवक्ता दिनेश लम्साल बताउँछन् ।
सांस्कृतिक प्रस्तुति, कृषि तथा उद्योग प्रदर्शनी, महिला तथा युवाका उद्यम स्टल, विविध प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम रहने उनको भनाई छ । साथै बालबालिकाका लागि खेलकुद क्षेत्र, कृषि प्रविधि प्रदर्शन र घरेलु उत्पादनहरूको बिक्री समेत हुने उनले बताए।
‘अहिले सुदूरपश्चिमका उद्योगी व्यवसायीहरूलाई पहिलो प्राथमिकता दिएका छौँ । स्थानीय स्टलका लागि छुट दिएका छौँ । घरेलु तथा कृषि उत्पादनको ५० स्टलहरू निःशुल्क छन् । स्थानीय परिकार र जाति विशेषको परिकारको लागि पनि निःशुल्क व्यवस्था गरेका छौँ’ उनले भने, ‘यस पटकको महोत्सव स्थानीय उत्पादनको प्रदर्शन र व्यापार दुवै ढङ्गले महत्त्वपूर्ण रहेको छ ।’
प्रदेशको कला, संस्कृति, परम्परा, खानपान र कृषिको प्रवद्र्धन गर्नुका साथै व्यापारिक गतिविधि विस्तार गर्ने महोत्सवको उद्देश्य रहेको उनले बताए। उनले महोत्सवले स्थानीय उत्पादन, हस्तकला, कृषि उपज, उद्यमशीलता र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए।
अघिल्ला प्रत्येक वर्षहरूमा सरकार प्रमुख वा राष्ट्र प्रमुखबाट महोत्सवको उद्घाटन हुने गरेको थियो । अहिले उद्योगी व्यवसायीहरूलाई प्राथमिकतामा राखेर अर्थमन्त्री वा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्षबाट उद्घाटनको तयारी भइरहेको छ ।
महोत्सवमा १५ करोड बढीको कारोबार हुने सचिव प्रकाश चन्दले बताए । ७ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
‘अघिल्लो वर्ष एकै दिन १ लाखले महोत्सव हेरेका छन् । यस पटक त्यो भन्दा अझै भव्य छ ’ कलाकार तथा युवा परिचालन समितिका संयोजक चन्द भन्छन् ‘अहिले सुदूरपश्चिमका अधिकांश कलाकारहरूको प्रस्तुति रहने छ ।’
वृद्ध तथा शारीरिक अशक्तता भएकाहरूलाई महोत्सवमा निःशुल्क अवलोकनको व्यवस्था गरिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घसँग आबद्ध भएका व्यापारीले पनि निःशुल्क अवलोकन गर्न पाउने छन् भने विद्यार्थी, खेलाडीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । टिकटबाट केही रकम छुट्टाएर सामाजिक काममा पनि खर्च गरिने सचिव चन्दले बताए ।
