धनगढी : सुदूरपश्चिम महोत्सवको सुरक्षा व्यवस्थालाई चुस्त बनाइने भएको छ ।
सोमबारदेखि सुरु हुने महोत्सवमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै कडा सुरक्षा व्यवस्था गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सव अवधिभर दर्शक तथा व्यवसायीको सुरक्षालाई ध्यानमा राख्दै पूर्णरूपमा सीसीटीभी क्यामराद्वारा निगरानी गरिने जनाइएको छ ।
भने, महोत्सवमा निजी तथा सरकारी सुरक्षाकर्मी परिचालन गरिने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले बताए ।
दमकल, प्राथमिक उपचारलगायत आकस्मिक सेवाहरू तयारी अवस्थामा राखिने भएको छ ।
टिकट बिक्री वितरणलाई पहिलेको भन्दा सहज र प्रभावकारी बनाउन डिजिटल भुक्तानीको व्यवस्था समेत मिलाइने भएको छ ।
आयोजक कैउवा संघले इसेवासँग अनलाइन टिकट साझेदारी गरेको छ । जस अनुसार अब दर्शकहरूले आफ्नो मोबाइलबाटै इसेवामार्फत टिकट काट्न सक्ने छन् ।
विद्यार्थीहरुको लागि ५० रुपैयाँ, सर्वसाधारणको लागि १०० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । भने, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । भने, कैलाली उद्योग वाणिज्य संघका सदस्यहरूलाई पनि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
महोत्सवमा करिब ७ लाख दर्शक सहभागी हुने अनुमान गरिएको छ। अध्यक्ष ओझाका अनुसार महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न मुख्य आयोजक समितिसहित २३ वटा उपसमितिहरू बनाइएको छ ।
महोत्सवबाट प्राप्त आयको केही अंश महिला सशक्तिकरण, लागुऔषध दुव्र्यसन नियन्त्रण लगायत सामाजिक क्षेत्रमा खर्च गरिने पनि संघका अध्यक्ष ओझाले बताए ।
