बुधबार, बैशाख २, २०८३

किसानको धान बिक्री हुनै छोड्यो, कैलालीमा भित्रियो पौने २० करोडको भारतीय चामल

तेजराज भट्ट/धनगढी । कैलालीका किसानले उत्पादन गरेको धानले यस वर्ष उचित मूल्य र बजार पाउन सकेको छैन। सरकारले मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ तोकेको छ। तर, यहाँ अहिले प्रतिक्विन्टल दुई हजार चार सयसम्ममा कारोबार भइरहेको छ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समर्थन मूल्यमा गत कात्तिक दोस्रो साता धान खरिद सुरु गरेपछि खाद्यका खरिद केन्द्रमा धान बेच्ने किसानको थामिनसक्नु भिड लाग्यो। खाद्यलाई धान बेच्च किसान ६–७ दिनसम्म लाइन लागे। तर, निर्धारित कोटा पूरा भएको भन्दै खाद्यले केही दिनमै खरिद बन्द गरेपछि धान लिएर खरिद केन्द्र पुगेका किसान बिक्री गर्न नपाएर फर्किन बाध्य भए।

खाद्यमा बिक्री गर्न नपाएका किसानले अहिले गल्ला व्यापारीलाई सस्तोमा धान बिक्री गरिरहेका छन् भने केही किसान खाद्यले कोटा थपेर पुनः खरिद गर्ला कि भन्ने आशामा धान थन्क्याएर बसेका छन्। कैलालीमा गत कात्तिकको तुलनामा अहिले धानको मूल्य घटेको छ।
जोशीपुर गाउँपालिका– ३, फारियाका किसान दीपककुमार चौधरीले उचित मूल्य पाइएला भन्ने आसले सय बोरा धान थन्क्याएर राखेको बताए। ‘गाउँमा खाद्यको डिपोमा भिड कमपछि बिक्री गरौँला सोचेको थिएँ, पछि खरिद नै बन्द भएछ,’ उनले भने, ‘अब व्यापारीलाई सस्तैमा भए पनि बेच्नुपर्ने बाध्यता छ।’ गत कात्तिकमा प्रतिक्विन्टल दुई हजार सात सयसम्म पुगेको धानको मूल्य अहिले घटेर दुई हजार चार सयमा झरेको उनले बताए।

यहाँका किसानले उत्पादन गरेको धानले उचित मूल्य र बजार नपाइरहँदा भारतबाट पछिल्लो चार महिनामै कैलालीमा पौने २० करोड मूल्यको चामल आयात भएको छ। कैलाली भन्सार कार्यालय धनगढीको तथ्यांकअनुसार गत साउनदेखि कात्तिकसम्म त्रिनगर नाकाबाट १९ करोड ७५ लाख ५४ हजार मूल्यको ३४ लाख ५२ हजार किलो चामल यहाँका व्यापारीले आयात गरेका छन्।

भन्सार कर्मचारीका अनुसार यो महिनामा पनि चामलको आयात बढिरहेको छ। गत आर्थिक वर्षमा मात्र त्रिनगर नाकाबाट ८९ करोड ६४ लाख मूल्यको एक करोड २६ लाख ५१ हजार किलो चामल आयात भएको भन्सार अधिकृत तेज रावलले जानकारी दिए। यहाँभन्दा सस्तोमा पाइने र नाफा बढी हुने भएकाले गल्ला व्यापारीले भारतबाट चामल आयात गर्ने गरेका छन्। भारतबाट ठुलो मात्रामा चामल आयात हुँदा नेपाली किसान भने धानको उचित मूल्य र बजार नपाएर मारमा परेका छन्।

भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा धान बिक्री गर्न र लागत उठाउनसमेत मुस्किल भएको गोदावरी नगरपालिका गेटाका किसान सत्यराज रावलले गुनासो गरे। भारत सरकारले त्यहाँका किसानलाई मल, बिउ, सिँचाइ, उपकरणमा धेरै सहुलियत दिने भएकाले त्यहाँ र यहाँको उत्पादन लागतमा फरक रहेको उनले बताए। ‘सस्तो पाएर व्यापारीले उतैबाट चामल ल्याउँछन्, हामीलाई यहाँ धान बिक्री गर्नै मुस्किल छ,’ उनले भने, ‘हाम्रो उत्पादनले बजार पाउन मूल्यसँग प्रतिस्पर्धा हुने गरी भारतबाट आयात हुने चामलमा कर लगाइदिनुपर्छ।’

भजनी लालबोझीका किसान सन्तराम चौधरी भारतबाट हुने आयातको चेपुवामा आफूहरु परेको बताउँछन्। सरकारले तोकेभन्दा प्रतिक्विन्टल ८६० रुपैयाँ र गत वर्षको बजार मूल्यभन्दा यस वर्ष प्रतिक्विन्टल पाँच सय रुपैयाँ कममा धान बिक्री गर्नुपरेको उनले गुनासो गरे। ‘सरकारले धानको मूल्य तोक्छ, तर हामीले व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने बाध्यता छ,’ चौधरीले भने, ‘हामीले उत्पादन गरेको धान कि सरकारले किनिदिनुप¥यो, कि उचित मूल्यमा बिक्री हुने वातावरण बनाइदिनुप¥यो।’

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार धान उत्पादनको उर्वर जिल्ला कैलालीमा करिब ६८ हजार हेक्टरमा बर्खे धान रोपिन्छ। कार्यालयले यस वर्ष दुई लाख ९४ हजार मेट्रिकटन धान उत्पादन भएको आकलन गरेको छ। कार्यालयका वरिष्ठ कृषि प्रसार अधिकृत टेकबहादुर विष्टले कैलालीमा उत्पादित धानमध्ये करिब आधा उपभोग हुने र आधा बिक्री हुने अनुमान रहेको बताए।

कृषि ज्ञान केन्द्रको अनुमानअनुसार किसानले झन्डै डेढ लाख मेट्रिक टन धान बिक्री गर्छन्। सरकारी स्वामित्वको खाद्य व्यवस्था कम्पनीले भने यो सिजनमा कैलालीबाट ३८ हजार ९४८ क्विन्टल मात्र मोटो धान खरिद गरेको छ। खाद्यले व्यापारीभन्दा बढी मूल्यमा खरिद सुरु गरेपछि जिल्लाभरि उसका ६ वटै खरिद केन्द्रमा धान बिक्री गर्ने किसानको थामिनसक्नु भिड थियो।

‘धान खरिद पुनः सुरु हुन्छ कि भनेर खरिद केन्द्रहरूमा अहिले पनि किसान सोध्न आइरहन्छ,’ खाद्यको प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले भने, ‘कोटा बढाउन केन्द्रलाई आग्रह गरेका छौँ।’ यस वर्ष ३५ हजार क्विन्टल कोटा तोकिएकोमा खरिद केन्द्रभित्र आएकोसमेत गरी करिब ३९ हजार क्विन्टल खरिद गरिएको उनले बताए।

खरिद कोटा बढाउन मुख्यमन्त्रीको आग्रह
सरकारले तोकेको मूल्य नपाएर व्यापारीलाई सस्तोमा धान बिक्री गर्नुपरेको गुनासो किसानले गरेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीमा धान खरिदको कोटा बढाउन संघीय सरकारलाई आग्रह गरेका छन्। २२ मंसिरमा धनगढी आएका अर्थमन्त्री रामेश्वर खनालसमक्ष मुख्यमन्त्री शाहले ५० हजार क्विन्टल धान खरिदको कोटा थप गर्न लिखित आग्रह गरेका हुन्।
बर्सेनि किन बढ्दै छ चामलको आयात ?

दुई वर्षयता त्रिनगर नाकाबाट चामलको आयात ह्वात्तै बढेको छ। भन्सारको तथ्यांकअनुसार आर्थिक वर्ष ०८०÷८१ मा पाँच करोड ९३ लाख मूल्यको ६ लाख १० हजार किलो चामल आयात भएको थियो। जबकि चालू आर्थिक वर्षको चार महिनामै पौने २० करोड मूल्यको चामल आयात भइसकेको छ।

मसिनो चामलको प्रयोग बढ्नु, तर यहाँका किसानले मोटो धान बढी लगाउनु, भारतमा चामल यहाँभन्दा सस्तो पर्नुले आयात बढेको वरिष्ठ कृषि प्रसार अधिकृत विष्टले बताए। मसिनो धान उत्पादन बढाउन मसिनो धान लगाउनेलाई उत्पादनका आधारमा कृषिले अनुदान दिन थालेको उनले बताए।

खाद्यको प्रादेशिक कार्यालयका प्रमुख थापा भारतले आफ्ना खाद्यका गोदामहरू खाली गर्नाले पनि चालमको आयात बढेको बताउँछन्। ‘गुणस्तरमा ह्रास आउने भएकाले भारतले दुई–तीन वर्षमा गोदाम खाली गरेर निर्यात गर्ने रहेछ। गत वर्ष त्यसरी खाली गर्दा धेरै चामल आयात भएको देखिन्छ,’ उनले भने, ‘सिधै चामल ल्याएर बेच्दा व्यापारीलाई सजिलो र फाइदा पनि हुने भएकाले बढी आयात भयो। त्यही कारण यहाँका किसानले उत्पादन गरेको धानले मूल्य नपाउने र खपत नहुने समस्या भएको हो।’
साभार : नयाँ पत्रिका

यो पनि पढौँ