धनगढी : कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरी कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा प्रवेश गर्ने तयारीमा पुगेका छन् ।
सरकारको सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका घिसिङको पार्टीमा प्रवेशको तयारीमा पुगेका छन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित चौधरी पछिल्लो समय नाउपाभित्रको कलहले वाक्क दिक्क थिए । योसँगै हालै उदाएको उज्यालो नेपाल पार्टीमा प्रवेशको तयारी पुगेका हुन् ।
मन्त्री घिसिङको मंगलबार कैलाली जिल्लास्थित विभिन्न योजनाको अनुगमन गर्ने कार्यतालिका रहेको नाउपाबाटै उज्यालो नेपालमा हालै प्रवेश गरेका नेता प्रदीप चौधरीले जानकारी दिए । यसैबीच जोशीपुर गाउँपालिकामा मंगलबार नै पार्टी प्रवेश कार्यक्रम तय गरिएको छ । कार्यक्रममार्फत पार्टी प्रवेशको तयारी गरिएको अध्यक्ष चौधरीले पनि पुष्टि गरे । उनले आफूसहित २४/२५ जना जनप्रतिनिधि पनि सँगै प्रवेश गर्ने जानकारी गराए ।
जिल्लाको जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी पनि खुलेरै उज्यालो नेपाल पार्टीको गतिविधिमा संक्रिय छन् । यद्यपी उनको औपचारिक प्रवेश हुन बाँकी छ ।
