हसुलिया : कैलालीको कैलारी गाउँपालिका २ मझरास्थित चन्द्रिका मेडिकल स्टोर सिल गरिएको छ ।
लामो समयदेखि गैरकानुनी रुपमा विना इजाजत सञ्चालन गरिएको सो मेडिकल स्टोरमा स्वास्थ्य कार्यालय कैलाली, जिल्ला प्रशासन कार्यालय कैलाली, कैलारी गाउँपालिकाको स्वास्थ्य शाखा, स्थानीय जनप्रतिनिधिलगायतको टोलीले छापा मारेको थियो ।
स्थलगत अनुगमन पश्चात पनि गैरकानुनी ढंगले सञ्चालन भएको पाइएपछि सिल गरिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले जानकारी दिए ।
मेडिकल सञ्चालक शिवनारायण चौधरीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य कार्यालयका प्रमुख कुँवरले बताए ।
पछिल्लो समय इजाजत विना सञ्चालित व्यापार, व्यवसायलगायतबारे जिल्ला प्रशासन कार्यालय कैलाली र प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारमा उजुरी परेपछि कारवाहीको प्रक्रियालाई तीव्रता दिइएको छ ।

