बुधबार, बैशाख २, २०८३

बेनौलीमा ५३ औं संस्करणको माघी मेला लाग्दै, तयारी तीब्र

हसुलिया : कैलालीको कैलारी गाउँपालिका ६ बेनौलीस्थित अपरम्पार तपस्वी बाबा मन्दिर परिसरमा लाग्ने माघी मेलाको तयारी तीब्र पारिएको छ ।

विगत ५२ वर्षदेखि निरन्तर लाग्दैआएको माघी मेला यो वर्षमा लाग्ने भएको हो । यो वर्षको मेलाको ५३ औं संस्करण हो । जसलाई आयोजकले माघी संक्रान्ति तीर्थ तथा पर्यटन मेलाको नाम दिएको छ । जसको तयारी तीब्र पारिएको हो ।

आदिवासी थारू समुदायको नयाँ वर्षको अवसरमा बेनौलीस्थित यूवा जनज्योति क्लबले मेलाको आयोजना गर्दै आएको छ । आयोजक क्लबले मेला व्यवस्थापन समिति गठन गरेर तयारीका विभिन्न कार्य अगाडि बढाएको छ ।

क्लबका अध्यक्ष प्रकाश महतोले मेला परिसर तथा कुसुम डाँडा, मन्दिर परिसरको सरसफाई गरिएको बताए । त्यस्तै, भक्तजन आश्रम र मन्दिर रंगरोगनको कार्य गरिएको छ । खानेपानीको व्यवस्थापनको कार्य पनि अगाडि बढाइएको छ । भने, मेलालाई भव्य र सभ्य बनाउन स्वयम्सेवक परिचालनको कार्यमा थालिएको अध्यक्ष महतोको भनाइ छ ।

मेलामा आउने व्यापारीहरुको स्टल दर्ताको कार्य पनि धमाधम चलिरहेको बताइएको छ । मेला व्यवस्थापन समितिकी अध्यक्ष राजरानी चौधरीले मेलामा करिब ५ सय बढी स्टल रहने गरेको र त्यसको दर्ता चलिरहेको जानकारी दिइन् ।

पुस अन्तिम दिनदेखि माघ ५ गतेसम्म सञ्चालन हुने मेलामा रमाइलो मेला, साँस्कृतिक कार्यक्रम, ब्याडमिन्टन खेलकुद प्रतियोगिता समेत राखिने आयोजकले जनाएको छ । मेलामा हजारौंको सहभागिता रहन्छ ।

योसँगै कैलाली जिल्लाको विभिन्न स्थानहरुमा पनि माघी मेला लाग्ने भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ स्थित रामजानकी भक्तिनिया अस्थानका साथै घोडाघोडी नगरपालिका ७, किर्तिपुरस्थित बुट्का बाबा मन्दिर परिसरमा मेला लाग्ने भएको छ । त्यस्तै कैलारी गाउँपालिका २ बसौटीस्थित करमदेव बाबा मन्दिर पनि मेला लाग्ने भएको छ ।

यो पनि पढौँ