धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वका साथै थरुहट/थारुवान अभियन्ताहरुबीच सोमबार बृहत राजनीतिक समायोजन भएको छ ।
टीकापुर घटना छानविन गर्न गठित गिरिशचन्द लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउनुपर्ने लगायत राजनीतिक मुद्दाहरुलाई आफ्नो बटमलाइन बनाउँदै नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वहरुका साथै थरुहट/थारुवान अभियन्ताहरुले रास्वपामा समाहित भएका हुन् ।
दुई पक्षबीच टीकापुर घटनालाई राजनीतिक आन्दोलनको रुपमा रुपमा स्वीकार गर्दै पार्टीको नेतृत्व सरकार निर्माण भएको छ महिनाभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, नेपालको संविधानको धारा ५६ (५) को मर्म अनुरुप, थारु बहुल क्षेत्रलाई थारु संरक्षित÷विशेष क्षेत्र घोषणा गर्नु मागलाई आफ्नो प्रमुख बटमलाइन बनाएका हुन् ।
नाउपाका पूर्व नेताहरु दामोदर पण्डित, राजेश अधिकारी, कोमल ज्ञवाली, लक्ष्मण किशोर चौधरी, ठाकुरसिंह थारु, थरुहट नेता लक्ष्मण थारु, तुलसी चौधरी, सुरेन्द्र चौधरी, जीवन धामीलगायत दर्जनौं नेता तथा कार्यकर्ताहरु रास्वपामा प्रवेश गरेका छन् ।
सहमतिपछि रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाइने र सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गरिेन सहमति पत्रमा उल्लेख छ । उनीहरुबीच ९ बुँदे सहमति भएको छ ।
