धनगढी : माघ नजिकीएसँगै पश्चिम नेपालको थारु बस्तीमा माघ पर्वको उल्लासले छप्पाक्कै छोपेको छ ।
नयाँ वर्षको रुपमा मनाउने थारु जातिको हरेक बस्तीमा यतिबेला पर्वको तयारीसँगै उल्लास बढेको हो ।
यतिबेला टोलैपिच्छे बंगुर, सुंगुरका जिटा तयार पारिएका छन् । पर्वमा चाहिने सामानहरुको जोहो गरिनथालिएको छ । चेलीबेटीहरुलाई पर्वमा आउन निमन्त्रणा गरिसकिएको छ । प्रियजनहरु माघी मनाउन घरको बाटो हिड्न तयारीमा छन् । थारु गाउँमा माघी मेलाको आयोजनाको तयारीले झनै माघको उल्लास बढाएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका १० स्थित नुक्लीपुर सामुदायिक होमस्टेका अध्यक्ष दिनेश दहितले माघको लागि केही हप्ता पहिल्यै जिटा तयार भएको बताए । कैलारी गाउँपालिका ९ सिमरानाका भलमन्सा रामचरण चौधरीले माघको लागि २ वटा जिटा तयारी अवस्थामा रहेको जानकारी दिए ।
आदिवासी थारु जाति माघ पर्वमा मात्रै होइन, प्रायः हरेक पर्वमा सुंगुुरको मासु अनिवार्य खाने प्रचलन रहिआएको छ । तिक्खर स्वाद मन मनाउने थारु जातिमा सुंगुरको मासु हरेक पर्व तथा उत्सवमा प्रायः अनिवार्य हुन्छ । नुक्लीपुर होमस्टे अध्यक्ष दहितले माघ पर्वको लागि मात्रै होइन, होली र नयाँ (बैशाख १)को लागि समेत अहिले नै जिटा बनाएर राखेको सुनाए ।
थारु संस्कृतिविदहरु थारु जातिले संगुरको मासु कहिलेदेखि उपभोग गर्न थाले भन्ने कुनै लेखाजोखा नहुनुले आदिमकालदेखि उपभोग गर्दैआएको पुष्टि हुने बताउँछन् ।
संस्कृतिविद अशोक थारु भन्छन्, ‘थारु समुदायमा उहिलेदेखि सुंगुर पाल्ने र सुंगुरकै मासु उपभोग गर्न मन पराउने समुदाय हो । पौष्टिकताको दृष्टिकोणले पनि लाभदायिक हुने भएको हुँदा वर्तमानमा पनि सुंगुरको मासु औधी रुचाइएको हो ।’
सुंगुरको मासुप्रति थारु किन यति पारखी ?
थारु समुदाय सुंगुरको मासु अधिक रुचाउने र उपभोग समुदाय हो । थारु समुदाय सुंगुरको मासप्रति निकै पारखी हुनुका कारणा सांस्कृतिक, ऐतिहासिक, भौगोलिक र व्यावहारिक पक्षसँग जोडिएका छन् । मुख्य कारणहरु यसरी उल्लेख गर्न सकिन्छ :-
- ऐतिहासिक र जीविकोपार्जनसँग जोडिएको
थारुहरू परम्परागत रूपमा तराईका जंगल, दलदल र नदीकिनार क्षेत्रमा बसोबास गर्थे। सुंगुर पाल्न सजिलो, छिटो बढ्ने र कम खर्चिलो हुने भएकाले यो उनीहरूको जीविकोपार्जनसँग घनिष्ट रूपमा जोडियो। - सांस्कृतिक र धार्मिक मान्यता
थारु संस्कृतिमा सुंगुर “अशुभ” मानिँदैन। बरु चाडपर्व, भोजभतेर, विवाह, माघी जस्ता अवसरमा सुंगुरको मासु विशेष मानिन्छ । - स्वास्थ्य र कामसँग सम्बन्ध
परम्परागत रूपमा थारुहरू कडा शारीरिक श्रम गर्ने (खेती, जंगलको काम) भएकाले ऊर्जा बढी दिने खाना उपयुक्त मानिन्थ्यो। सुंगुरको मासु बोसोयुक्त र शक्तिवर्धक मानिन्छ । - पर्यावरणीय अनुकूलता
तराईको तातो मौसममा सुंगुर सजिलै पाल्न सकिने जनावर हो। घर वरिपरिको फोहोर, कृषि अवशेष खाएर पनि हुर्कन सक्छ । - सामुदायिक पहिचान र स्वाद
पुस्तौँदेखि खाइँदै आएको हुँदा स्वादप्रतिको बानी र सामुदायिक पहिचानको हिस्सा बनेको छ । संक्षेपमा भन्नुपर्दा, थारुहरू सुंगुरको मासु पारखी हुनु संस्कृति, आवश्यकता र वातावरणको प्राकृतिक परिणाम हो । कुनै असामान्य कुरा होइन, बरु उनीहरूको जीवनशैलीको अभिन्न अंग हो।
