आइतवार, बैशाख ६, २०८३

माघ नकुर्दै किन पुसमै नयाँ ‘राजनीतिक महटावा’ चुने थरुहट नेताहरु ?

प्रत्येक वर्षको माघ पर्वमा गाउँको नयाँ अगुवाको रूपमा बरघर, भलमन्सा, महटावा चुन्छन् थारूहरू । विडम्वना आफैँ अगुवा बन्न छाडेर माघ नआउँदै नयाँ महटावाको रूपमा रवि लामिछाने, पुष्पकमल दाहाल प्रचण्डलाई किन चुन्दैछन् थरुहटका नेताहरू ?

माथिको प्रश्नले यो पंक्तिकार रवि अनि प्रचण्ड विरोधी हो भन्ने अर्थ नलागोस् । थरुहटका नेताहरू अरु पार्टीमा पनि समाहित छन् । तर, जेन जी आन्दोलनको बलमा हुन लागेको आगामी फागुन २१ को चुनावको घोषणापछि पहिचानपक्षधर नेताहरूको खडेरी पर्न थालेकै हो त ? भन्ने गम्भीर प्रश्न उब्जाएको छ । यसबाट थरुहटका नेताहरू झनै बढी दागी देखिएका छन् । यसै प्रसंगमा यो आलेखमा आँगनमै झुल्किएको थारू समुदायको नयाँ वर्षको रूपमा पनि जानिने माघ÷माघी पर्वको महत्त्वसँगै थारू अगुवा र कमैयाको अन्तर्सम्बन्ध केलाउने प्रयास गरिएको छ । तर, यस आलेखको मजबुन थरुहटको राजनीतिक सेरोफेरोमा केन्द्रित छ ।

माघीमा गाउँको अगुवा बरघर मात्रै होइन, घरको घरमूली गर्ढु¥या छान्नका लागि पनि छलफल गर्ने थारू समुदाय कति लोकतान्त्रिक छ भन्ने प्रस्ट हुन्छ । आम नेपालीका लागि माघे संक्रान्ति राष्ट्रिय पर्व हो । माघी÷माघ थारू समुदायका लागि भने नयाँ वर्ष झैँ हो । हाल थारू सम्वत २६४८ चलिरहेकोमा माघ १ पछि २६४९ लाग्नेछ । तर डेढ दशक पहिले न्वारन गरिएको थारू सम्वतकै बारेमा पनि व्यापक बहसको उत्तिकै खाँचो छ ।

माघे संक्रान्ति एक दिन मात्र मनाइन्छ भने थारूहरू माघी पूरै माघ महिनाभरी मनाउँछन् । थारू समुदायमा यही पर्वले उनीहरूमा ‘हामी’ को भावना विकास गराउँछ । यसलाई स्थान विशेषअनुसार माघ, माघी, माघे संक्रान्ति, माघी डेवानी, खिचरा, खिचरी, तिला संक्राइत पनि भनिन्छ । २०५९ सालदेखि नेपाल सरकारले माघ पर्वमा बिदा दिने निर्णय गरेपछि कञ्चनपुरदेखि झापासम्मका समग्र थारू समुदायले माघ÷माघी पर्वको रूपमा उल्लासमय वातावरणमा मनाउँदै आएका छन् । नेपालभन्दा बाहिर बसोबास गर्ने प्रवासी थारूहरूले पनि केही वर्षदेखि माघीलाई महोत्सवको रूपमा मनाउन थालेका छन् ।

माघीमा गाउँको अगुवा बरघरदेखि घरको मुली गर्ढु¥या चुनिन्छ । बरघरले गाउँको नेतृत्व गर्छ । गाउँको रखवारी गर्ने चौकीदारदेखि मरुवा (देउथान)मा पूजा गर्ने चिराकी चुनिन्छ । भाइ भाइमा जति मनमुटाव भए पनि यही माघीमा मात्र घर अलग हुने चलन छ । माघीलाई थारू समुदायको नयाँ वर्ष पनि भनिन्छ । खास गरी वर्षभरि क–कसले, को सँग पैसा लिनुपर्ने वा दिनुपर्नेछ । सम्पूर्ण ऋणहरू चुक्ता गर्ने र नयाँ खातापाता सञ्चालन गर्ने कार्य यही दिनबाट सुरु हुन्छ । घरभित्र होस् या गाउँसमुदायमा खेतीपातीलगायत अन्य व्यवहारहरूको पनि नवीकरण पनि यसै दिनमा गरिन्छ । त्यसैले, माघीमा मनोरञ्जनको पर्व मात्रै नभएर थारू परिवार, समाजको रितिथिति बाँध्ने प्रमुख पर्व हो ।

माघलाई माघको गुरिगुरि जाँर भन्दै बुझिने र प्रचार गरिने गरेको पाइन्छ । माघमा डफ बजाउँदै ढमार गाएको सुन्न अब भाग्यमानी नै हुनुपर्नेे स्थिति आइसक्यो । माघको जुन मौलिकता थियो, त्यो जीवन मरणको दोसाँधमा पुगिसक्यो । थारू गाउँको घरसंख्या जति नै ठूलो किन नहोस्, प्रत्येक घरमा पस्दै साइनोअनुसारको ढोगभेट गरिन्छ माघ १ गते नुहाएपछिको बिहानमा । शहरिया थारूहरूले गाउँको खानपीनको शैली त पछ्याए तर गाउँको माघको मौलिकता शहरमा भित्र्याउन जाँगर देखाएनन् । थारू गाउँले विगतको वर्ष आफ्नो गाउँले केकस्तो प्रगति ग¥यो भने समीक्षा गर्छन् । भनेअनुसार प्रगति नभए बरघरलाई केरकार गर्छन् । शहरमा बसोबास गर्ने थारूहरूले पनि आफू बस्ने शहरका लागि, आफ्नो समुदायका लागि के कस्तो योगदान गर्न सकियो भन्ने समीक्षा गर्नुपर्ने होइन र ? कि शहरमा मान्छे रमाउन मात्र आएका हुन् ?

थारू अगुवा र ‘राजनीतिक कमैयाहरू’

२०५७ साउन २ मा कमैया मुक्ति घोषणा गरियो । यसअघि माघकै बेला कमैयाको नवीकरण हुने÷नहुने तय गरिन्थ्यो । त्यसैले, माघीलाई मुक्ति पर्वको रूपमा पनि मनाउँथे थारू समुदायका कमैयाहरू । कमैया वर्ग खास गरी थारू समुदाय नै थियो । मुक्तिपछि कतिपय जग्गाधनीले अधियामा खेती लगाउन अढेरवाहरूलाई दिइरहेका छन्, यसको नवीकरण पनि माघमै हुन्छ ।

माघसँगै पुसको महत्त्व पनि जोडिएको छ थारू समुदायमा । पुस मसान्तका दिन सुंगुर मारिन्छ । माघ १ गतेका दिन रगत देखाउनु हुन्न भन्ने मान्यताले ‘पुस पकावा, माघ खावा’ भन्ने भनाइ पनि छ । यता आएर राजीनितिक रूपले पनि थारू समुदायको सम्बन्ध पुस महिनासँग जोडिन थालेको छ । थरुहट थारूवान अभियन्ता, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का पदाधिकारी राष्ट्रियसभा गृहमा एक समारोहका बीच २०८२ पुस २१ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । त्यसको केही दिनअगावै नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीलगायतको टोली नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । यसरी थरुहट नेताहरू आफ्नो राजनीतिक जमिन्दारी परित्याग गरेर कमैया बनी अर्को जमिन्दारसँग खोजनी बोजनी गरी माघ नकुर्दै पुसमै बँधुवा भएका छन् ।

पूर्वी मधेशमा गजेन्द्रनारायण सिंहले २०४६ को परिवर्तनलगत्तै सद्भावना पार्टी जन्माएका थिए । अहिले मधेशमा आधा दर्जन दल स्थापित छन् । यी कहिले टुट्छन्, फुट्छन् । पुनः जोडिन्छन् पनि । एकापसमा लडाइँ भिडाइ गरे पनि मूलधारका पार्टीहरूको यिनले पसिना छुटाएका छन् । संस्थागत रूपमा मधेशको पहिचानवादी राजनीति गज्जु बाबुकै नेतृत्व हो भन्नेमा दुई मत नहोला । तर, कुनैबेला कांग्रेसको महामन्त्री त्यागेर पञ्चायत राजनीतिमा लागेका परशुनारायण चौधरी २०४६ को परिवर्तनपछि पुनः कांग्रेसमा छिरे । उनको पहिचानवादी राजनीतिमा रुचि भएन । कांग्रेसले नपत्याउँदा राप्रपामा छिरे । थरुहट पहिचानको राजनीतिक ज्वारभाटा आउन जनआन्दोलन २०६२÷०६३ नै कुर्नुप¥यो ।

हालै रास्वपा छिर्नेमा थारू थरुहट–थारूवान नेता लक्ष्मण थारू पनि रहेका छन् । थरुहटको पहिचानवादी आन्दोलनको आँधी उनले अगुवाइ गरेको समूहले नै ल्याएको थियो भन्दा फरक परोइन । उनी नेकपा (माओवादी) सँग एक दशकसम्म सशस्त्र द्वन्द्वमा सहभागी थिए । सशस्त्र द्वन्द्वमा सहभागी हुँदा उनमा थरुहटको पहिचानको भोक जागेको थियो । २०६३ सालमा शान्ति सम्झौता भयो । शान्ति प्रक्रियापछि माओवादीले थारू समुदायलाई दिएको आश्वासन पूरा नगरेको आरोप लागेपछि उनी र उनी सम्वद्ध समूहले २०६४ फागुन २५ गते माओवादीबाट विद्रोह गरेर आफ्नै थरुहट–थारूवान स्वायत्त आन्दोलन सुरु गरेका थिए । उनकै अगुवाइमा २०६८ साउन २७ गते थरुहट तराई पार्टी नेपालगञ्जमा घोषणा भएको थियो । निर्वाचन आयोगमा भने यो दल २०६९ पुस ४ मा दर्ता भएको थियो । थरुहट पहिचानको राजनीति गर्ने लक्ष्मण थारूले आफ्नो फेसभ्यालु घटाउँदै किन रास्वपा प्रवेश गरे, उनी सम्बद्ध समुदायले अहिले प्रश्नको बौछार ल्याएको छ ।

उपेन्द्र यादवले २०५४ सालमा बनाएको मधेशी जनअधिकार फोरम संस्थालाई २०६४ वैशाख ४ गते पार्टीको रूप दिएका थिए । कांग्रेसबाट विद्रोह गरेर विजयकुमार गच्छदार यादवकै फेरो समाउन पुगे । सत्ता सञ्चालनमा मनमुटाव भएपछि गच्छदारले आफ्नै नेतृत्वमा फोरम लोकतान्त्रिक हाँके । यही फोरम लोकतान्त्रिकमा थरुहट तराई पार्टी नेपाल समाहित भयो । गच्छदार थारू समुदायका भएकाले यसलाई एक अर्थमा थारू पहिचानवादी पार्टीको रूपमा चिनियो । २०७४ को स्थानीय चुनावमा फोरम लोकतान्त्रिकले आफ्नो राम्रै उपस्थिति जनाएको थियो । तर, संसदीय चुनावका बेला फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भयो ।

थरुहट तराई पार्टी जन्मिएको ठीक एक दशकपछि २०७८ पुस १९ गते निर्वाचन आयोगमा दर्ता भएको थियो नाउपा । थरुहट तराई पार्टी फोरम लोकतान्त्रिकमा बिलय हुनु अनि फोरम लोकतान्त्रिक कांग्रेसमा विलय हुनुको खाली गोलपोस्टमा थारू पहिचानवादी पार्टीको रूपमा नागरिक उन्मुक्ति पार्टीले गोल हान्ने मौका पायो । थरुहट तराई पार्टीले आफूलाई फोरम लोकतान्त्रिकमा बिलय गराएपछि उसको चुनाव चिह्न ढकिया नागरिक उन्मुक्ति पार्टीले लिएको थियो । पहिचानमा आधारित संघीयता, भूमि अधिकार, थारू समुदायमाथि भएका ऐतिहासिक विभेदको अन्त्यलगायत थरुहट तराई पार्टी स्थापनाको उद्देश्य थियो । यही उद्देश्यअनुरूप टीकापुर आन्दोलनका राजवन्दीलाई रिहाई गरिनुपर्ने, यसलाई राजनीतिक मुद्दा बनाइनुपर्ने थप उद्देश्य बोकेर नाउपा जन्मिएको थियो ।

नाउपाले २०७९ को चुनावमा प्रतिनिधिसभामा ४, प्रदेशमा १२ सांसद तथा स्थानीयमा ४ पालिकाका प्रमुखमा विजयी हासिल ग¥यो । थ्रेसहोल्ड कटाउन नसके पनि प्रतिनिधिसभामा समानुपातिकतर्फ २ लाख ७१ हजार ७६४ मत ल्याई आफूलाई बलियो शक्तिको रूपमा उभ्याएको थियो । जबकि थरुहट तराई पार्टीले २०७० मा ६२ हजार ८९९ समानुपातिक मत ल्याई २ जना समानुपातिक सांसदबाहेक २०७४ को चुनावमा समेत कुनै पालिकामा झण्डा गाड्न सकेको थिएन ।

नाउपा बलियो शक्तिको रूपमा उदाए पनि यसका संस्थापक रेशम चौधरीको रिहाइपछि उनको र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अति महत्त्वाकांक्षाले यो पार्टी किचलोमा फस्न पुग्यो । अन्ततः रेशम आफू नयाँ पार्टी नाउपा नेपाल दर्ता गरी चकिया चुनाव चिह्नमार्फत आगामी चुनावमा होमिएका छन् भने रन्जिताले आफ्नो टिम नेपाली कम्युनिस्ट पार्टीमा विलय गराएकी छिन् । सांस्कृतिक रूपमा माघमा ठूलो महत्त्व हुन्छ ढकियाको । तर राजनीतिकरूपी ढकियामा भने कहिल्यै नटालिने गरी प्वाल परेको छ ।

रास्वपामा छिर्नुअघि नागरिक उन्मुक्ति पार्टीका महामन्त्री ठाकुरसिंह थारूको अभिव्यक्ति आयो– ‘हामी तिमीहरू (रेशम–रन्ज्तिा) को दास बनेर बस्न तयार थियौँ । तर, हामीलाई जबरजस्त रूपमा उछिट्याएरै छोड्यौ ।’ नाउपा टोली रवि, प्रचण्डको फेरो समाएपछि तिनका कार्यकर्तामात्रै होइन, अगुवा नै अर्को जमिन्दारको कमैया बन्न गएको आरोप लागिरहेको छ ।

टीकापुर घटनामा डिल्लीबजार कारागारमा रहेका रेशमले कारागारबाटै जन्माएका थिए नाउपा । आफूसम्बद्ध दल राजपाले रिहाइमा चासो नदिएको भन्दै विद्रोह गरी अर्को पार्टी बनाएका थिए । नयाँ पार्टी जन्माएर आफैँ मालिक भएका थिए । अहिले रेशम नेतृत्वको नाउपा नेपालको चकियामा उनका राजनीतिक गुरु राजेन्द्र महतोदेखि, अशोक राईसम्मले सहकार्य त गरेका छन् । तर, धर्मपत्नी रन्जिता, बुवा लालवीरलगायतलाई सम्म सांसद बनाएका रेशमको पारिवारिक राजनीतिको खेती अब पार्टनरसिपको राजनीतिबाट अगाडि बढ्ने खासै छेकछन्दो छैन । रिहाइपछि उनीसँग मुद्दा पनि छैन । नाउपा छाडेका सुरेन्द्र चौधरीले त नाउपाले समानुपातिकमा ३५ हजार मतसम्म कटाउन नसक्ने अभिव्यक्त् दिइसके । पछिल्लोपटक लहरमै सही थरुहटमा रेशमले नाउपामार्फत संस्थागत गर्दै ल्याएको थरुट पहिचानको ‘राजनीतिक जमिन्दारी’ एकाध वर्षमै ‘राजनीतिक कमैया’को रूपमा परिणत भएको स्थिति छ । पूर्वी मधेशमा मधेश पहिचानवादी पार्टी जति पनि चल्ने । अनि पश्चिम थरुहटमा भएको एउटा थरुहट पहिचानवादी पार्टीको दुकान पनि नचल्ने ? आफ्नै नेतृत्वको पार्टी हाँक्न नसक्ने के थारूहरू राजनीतिमा पनि दास लायक मात्रै छन् त ? नेपाल भ्यूबाट

यो पनि पढौँ