बुधबार, बैशाख २, २०८३

फूलबारीमा माघी मेला सुरु, प्रदेश प्रमुख मियाँले गरे उद्घाटन

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर १९ स्थित फूलबारीमा आयोजित फूलबारी माघी मेला तथा खुला भलिबल प्रतियोगिता सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले बिहीबार कार्यक्रमका बीच मेला तथा भलिबल प्रथियोगिता उद्घाटन गरेका हुन् ।

उनले रिबल काटेर मेलाको उद्घाटन गर्दै थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु अति आवश्यक रहेको बताएका छन्।

उनले भने, ‘थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण अति आवश्यक छ । यसलाई सबैले संरक्षण गर्नु पर्छ’ उनले भने, ‘यस्ता मेला महोत्सवले मौलिक, संस्कृति प्रवद्र्धन र संरक्षणमा भूमिका खेलिरहेको छ ।’

सुदूरपश्चिम प्रदेशमा विभिन्न संस्कृति , कला र सभ्यता रहेको भन्दै उनले प्रदेशलाई सुदूरपश्चिम नभई सुन्दर पश्चिमको रूपमा चित्रण गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख दीपक देवकोटाले पनि यहाँको कला संस्कृतिको बखान गरेका थिए ।

उद्घाटन समारोहमा थारु समुदायका सखिया नाच, लाठी नाच, मुग्रहुवा नाचलगायत मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरिएका थिए। खुला भलिबल प्रतियोगिताको समेत प्रदेश प्रमुख मियाँले उद्घाटन गरेका थिए । प्रतियोगिताका खेलहरू भोलिदेखि सुरु हुने छ।

कार्यक्रममा दुई प्रदेशका प्रदेश प्रमुखसहित पूर्व मन्त्री नारदमुनी राना, धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला कुमारी राना, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशी, प्रदेश नीति तथा योजना आयोग सदस्य नृप सुनार, एमाले प्रदेश सचिव रणबहादुर चन्द, कैलाली जिल्ला अध्यक्ष यज्ञ ढुङ्गानालगायतको उपस्थिति रहेको थियो।

माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने मेलामा करिब ७० भन्दा बढी व्यावसायिक स्टलहरू राखिएका छन्। मेलाको मुख्य आकर्षणका रूपमा विभिन्न थारु परिकार, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक गतिविधिहरू रहेका छन्।

थारु संस्कृति तिहुवार मञ्चको आयोजनामा सुरु भएको मेला तथा भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम मञ्चका अध्यक्ष पर्वत चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढौँ