सोमवार, बैशाख ७, २०८३

एमालेले कैलाली–५ मा गठन गर्‍यो चुनावी समिति, संयोजकमा नारदमुनी

धनगढीः नेकपा एमालेले कैलाली–५ मा निर्वाचनलाई लक्षित गर्दै मूल परिचालन समिति गठन गरेको छ ।

पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी रानाको संयोजकत्वमा चुनावी तयारीका लागि १००१ सदस्यीय मूल परिचालन समिति गठन गरेको हो ।

समितिको उपसंयोजक पार्टीका सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दलाई बनाइएको छ । यस्तै, रानाकै संयोजकत्वमा २५ सदस्यीय मूल निर्वाचन परिचालन समितिको सचिवालय पनि गठन गरिएको छ ।

२१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेले कैलाली–५ मा जिल्ला अध्यक्ष यज्ञराज ढुंगानालाई उम्मेदवार बनाएको छ ।

सचिवालयमा कैलाली–५ बाट प्रतिनिधित्व गर्ने विभिन्न तहका नेताहरूलाई सदस्य बनाइएको छ । ढुंगानाको चुनावी कमान्डर बनेका राना २०७४ सालमा कैलाली–५ मा कांग्रेस नेतृ आरजु राणालाई पराजित गरेका थिए भने २०७९ मा कांग्रेसका डिल्लीराज पन्तसँग पराजित भएका थिए ।

राना यसपटक पनि उम्मेदवारका आकांक्षी थिए तर पार्टीले भने जिल्ला अध्यक्ष ढुंगानालाई टिकट दिएपछि उनी चुनावी कमान्डर बनेर पार्टीको उम्मेदवार जिताउन सक्रिय भएका छन् ।

यो पनि पढौँ