शनिबार, बैशाख १९, २०८३

बाली जोगाउन जहाँ रातभरि जाग्राम बसिन्छ

धनगढी : कैलालीको कैलारी गाउँपालिका २ बसौटीकी बचौनी देवी चौधरीका श्रीमान राभभरि जाग्राम बस्ने दिन कुरिररहेका हुन्छन् ।

खेतबालीमा रहेको अन्नबाली छाडाचौपायाबाट जोगाउन रातभरि पहरा दिने रात कुरेर बस्दैआएका हुन् ।

जागाम बस्न बनाइएको टहरा नजिकै भेट भएकी बचौनीले भन्छिन्, ‘गाउँभरिकै मानिसहरुको पालो आउँछ । समूह बनाएर प्रत्येक राति पहरा दिनुपर्छ । यसरी पहरा दिइएन भने खेतबारी बाली नै जोगिन्न ।’

बसौटी गाउँका भलमन्सा बासु चौधरीका अनुसार सो गाउँमा २०६ घरधुरीको बसोबास छ । स्थानीय करमदेव सामुदायिक वनबाट आउने छाडा चौपायाबाट जोगाउन पहरा दिदै आएका हुन् । स्थानीयले सामुदायिक वनको दुई वटा प्रवेशद्वारमै गेटसहित पहरा घर अर्थात टहरा बनाएका छन् ।

स्थानीयले पहरा दिन ८ समूह बनाएका छन् । ८ समूहभित्र पनि ३÷३ वटा उपसमूह छन् । ती उपसमूहका ७÷८ जना मानिसको समूहले राति जाग्राम बसेर पहरा दिदैआएका हुन् ।

कैलारी गाउँपालिका ६ सुर्मीका स्थानीयहरुले भने छाडा गाईगारु जंगलमा छाड्ने र थुन्ने कार्य दैनिक गर्दै आएका छन् ।

स्थानीय वसन्त चौधरीका अनुसार गाउँलेहरुले सामुदायिक वनको छेउमा चौपाया थुन्न टहरा बनाएका छन् । जहाँ एक सय छाडाचौपाया रहने गरेको चौधरीले जानकारी दिए ।

तिनीहरुको व्यवस्थापन तथा छाड्ने र थुन्ने कार्यको लागि प्रत्येक दिन १८÷२० जना खटिदैआएका छन् । ११६ घरधुरी रहेको सुर्मी गाउँमा ६ समूह गाईगोरु व्यवस्थापनमा खटिदैआएको छ । यसरी नै सुर्मी गाउँका स्थानीयहरु खेतबारीको अन्न जोगाउन वर्षभरि पालैपालो खटिदैआएको दुखोसो सुनाउँदै आएका छन् । तर टोलीमा नखटिन नचाहने व्यक्तिले भने, वार्षिक १ हजार रुपैयाँ गाउँ समाजलाई बुझाउनुपर्ने नियम समेत बनाएका छन् ।

स्थानीय वसन्त चौधरी भन्छन्, ‘यो छाडाचौपायाले गाउँलेलाई अतिरिक्त कामको भार थपिएको छ । नगरौं बाली जोगिन्न । बाली जोगाउनलाई पनि यतिको गर्नैपर्छ ।’

छाडा चौपायाले हिउँदे बाली नोक्सान गर्न थालेपछि कतिपय ठाउँका किसानले वनजंगल क्षेत्रमा तारबार समेत गरेका छन् । वनमा रहेका छाडा चौपायालाई खेततर्फ आउन नदिनका तारबार गर्न लागेका हुन् । कैलारी गाउँपालिका–७ छटकपुर बसन्ताका किसानले तारबार गरेका हुन् ।

गाउँका पूर्वभलमन्सा जियाराम चौधरीले बसन्ता वन क्षेत्रमा रहेका छाडा चौपायाले कृषि उपजमा नोक्सान गरेर दुःख दिएपछि वन क्षेत्रमा तारबार गरेको बताए ।

यो कैलाली जिल्लाको यी केही बस्ती मात्रै होइन, पछिल्लो समय छाडा चौपाया समस्या विकराल रूप लिएको छ । सुदूरपश्चिम प्रदेशको तराई जिल्ला कैलाली र कञ्चनपुर जिल्लामा छाडा चौपाया व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । छाडा चौपायाले खेतबारी नष्ट हुन थालेपछि किसानहरू चिन्तित बनेका हुन् । यहाँका हरेक पालिकामा छाडा चौपाया व्यवस्थापन चुनौती बने पनि व्यवस्थापन कार्यले सार्थक पाउन नसकेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनको कार्य गर्दै आएको छ । गौशाला निर्माण गरी गौशाला निर्माणको कार्य गर्दै आएको छ । प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले विगतका वर्षमा झै चालू आर्थिक वर्षमा पनि व्यवस्थापन कार्य भइरहेको बताए । स्थानीय तहसँगको साझेदारीमा व्यवस्थापनको कार्य गर्न प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको मन्त्री थापाले जानकारी दिए ।

यो पनि पढौँ