शनिबार, बैशाख ५, २०८३

सुदूरपश्चिम सरकारको कमजोर प्रगति, ६ महिना १४.८२ प्रतिशत मात्रै बजेट खर्च

धनगढी : सुदूरपश्चिम सरकारको अर्धवार्षिक खर्च प्रगति एकदमै सुस्त रहेको छ ।

झण्डै दुई महिना बजेट शून्यताको अवस्थामा रहेको सुदूरपश्चिम सरकारको बजेट खर्च जम्मा १४.८२ प्रतिशत मात्रै रहेको हो ।

प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीका प्रमुख बासुदेव जोशीका अनुसार आर्थिक वर्ष २०८१÷०८२ को कूल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बजेट रहेको प्रदेश सरकारले ६ महिनाको अवधिमा १४.८२ अर्थात ४ अर्ब ६८ करोड ७० लाख ५ हजार मात्रै खर्च गर्न सकेको हो ।

प्रदेश सरकारले चालुतर्फको १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार बजेट रहेकोमा २ अर्ब ८१ करोड ५८ लाख ५२ हजार अर्थात् २१.९० प्रतिशत मात्रै खर्च गरेको छ ।

भने पुँजीगत खर्च १ अर्ब ८७ करोड ११ लाख अर्थात ९.९८ प्रतिशत मात्रै खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको हो ।
चालू आवको लागि साउन १ गते प्रदेश सरकारका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले बजेट ल्याएको थियो । तर प्रदेश सभाबाट बजेट पास हुन नसक्दा बजेट शुन्यताको अवस्था सिर्जना भएको थियो । पछि सरकारमा भएको फेरबदलपछि बनेको मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट गत असोज ६ गते पारित भयो । जुन निकै ढिलो आएको बजेटको खर्च स्थिति सुस्त रहेको हो ।

प्रदेश सरकारको मन्त्रालयगत रुपमा खर्च स्थिति हेर्ने हो भने चालु आर्थिक वर्षमा सबैभन्दा बढी पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा १४ अर्ब १० करोड ६७ लाख ५२ हजार पुँजीगत बजेट छ । पौष मसान्तसम्म १ अर्ब ७४ करोड २ लाख ३५ हजार खर्च गरेको छ ।

त्यस्स्तै, २ अर्ब ९० करोड ३७ लाख ४३ हजार पुँजीगत बजेट रहेको सामाजिक विकास मन्त्रालयले ६ महिनाको अवधीमा ६ करोड ३० लाख मात्रै खर्च गर्न सकेको छ ।

८८ करोड ५० लाख ६१ हजार पुँजीगत बजेट रहेको प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले १ करोड ९४ लाख ३४ हजार मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

यो पनि पढौँ