धनगढी : मुसा भनेपछि जो कोहीको तिरष्कारमा पर्ने जीव हो । त्यसको परिकार बनाएर उपभोग गर्नु भनेपछि अधिकांशले नाक खुम्च्याउँछन् । छिछि ! र दुरदुर पनि गर्लान् ।
तर कैलालीको धनगढी उपमहानगरपालिका १६ भादा गाउँमा मुसाका थरिथरिका परिकारहरु महँगोमा बिक्री वितरण हुन्छ । मुसाको सेकुवा, ग्रेबी, भुटन पाक्छन् ।
भादा दक्षिण टोलस्थित महिला समूहकी श्याम सुन्दरी चौधरीले होम स्टेमा मुसाको परिकारसहित अन्य थारु परिकारहरु मुख्य आकर्षण रहेको बताइन् ।
भादा होमस्टे सञ्चालक तथा भादाका भलमन्सा सन्तकुमार चौधरीले थारु परिकारमध्ये मुसाको परिकार एक रहेको बताउँदै भादामा लाग्ने महोत्सवको स्टल तथा अन्य बेलामा बिक्री हुने जानकारी दिए । मुसाको परिकार प्रति पिस ३० रुपैयाँका दरले बिक्री दर निर्धारण गरेको चौधरीले जानकारी दिए ।
जुन परिकार ग्राहकहरुको मुख्य रोजाइमा पर्ने गरेको जुनेली मिश्रित कजेटकी सदस्य मेनुका चौधरीले बताइन् । आफूहरुले परिकारको लागि खेतको मुसा प्रयोग गर्दै आएको उनले भनाइ छ ।
यहाँ मुसाको परिकार मात्रै होइन्, घोंघी, सुटही, गंगटा, परेवा, बंगुर, लोकल कुखुरा, माछालगायतको परिकार पाक्ने गरेको छ । जहाँ घोंघी प्रति प्लेट ८०, गंगटा ६०, सुटही ९०, लोकल कुखुराको सेकुवा २ सय र मासु १७० मा पाइन्छ ।
त्यस्तै, थारु परिकारमै पर्ने खुर्मा, फुलौरी, खेरिया, बयरको चटनी, अन्डिक भात, अन्डिक झोर (छ्याङ) महुवाको रक्सी समेत पाउने गरेको छ ।
होमस्टेको सञ्चालनपछि थारु परिकार, कला, संस्कृति, भेषभुषा तथा रहनसहनको संरक्षण तथा प्रवद्र्धन सँगै पर्यटन प्रवद्र्धन भएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीको भनाइ छ । जसले स्थानीय उत्पादनको स्थानीय स्तरमै खपत भइ स्वरोजगारीको वातावरण समेत सिर्जना भएको बताइएको छ ।
विशुद्ध थारु समुदायको बसोबास रहेको भादामा अन्य जाति समुदायको मानिस बसोबास गर्न आए उनीहरुको परिवारजनमा अनिष्ट हुने जनविश्वास रहँदैआएको छ । जुनकारण भादामा थारुको मात्रै बसोबास रहन गएको अध्यक्ष चौधरीको दाबी छ ।
भादा धनगढी बजारदेखि १७ किलोमिटरको दुरीमा रहेको छ ।
