शनिबार, बैशाख ५, २०८३

माछाको पालनकाे हब कैलाली–कञ्चनपुर, जीडीपीमा ०.५ प्रतिशत योगदान

लखन चौधरी
धनगढी : पछिल्लो समय पश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्ला माछापालनको हब बनेको छ ।

माछा पालन छुट्टै सम्भावनाको व्यवसायमा परिणत भएपछि हबको रुप विकास हुँदै गएको हो ।

सरकारी तथ्यांक अनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ ।

मत्स्य विकास केन्द्र गेटा कैलालीको तथ्यांक अनुसार कैलाली १९४ र कञ्चनपुरमा ४८ वटा गरी २४२ बढी प्राकृतिक अर्थात घोलताल छन् । प्राकृतिक र कृत्रिम गरी यहाँ २ हजार ५४२ वटा ताल र पोखरीहरु गरी जम्मा १ हजार ३७५ हेक्टर क्षेत्रफलमा माछा पालन हुँदैआएको छ । जुन मुलुकको कुल घोलतालको एक तिहाइ क्षेत्रफल हो ।

जहाँ ५ हजार ३८० बढी व्यावसायिक किसानहरु माछा पालनमा संलग्न रहेको मत्स्य विकास केन्द्रको तथ्यांकमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला माछा उत्पादनको प्रमुख जिल्ला हो । यहाँ उत्पादित माछाले यहाँको ७५ प्रतिशत माग धानिरहेको छ । बाँकी २५ प्रतिशत माछा भारत र अन्य प्रदेशबाट आयात भइरहेको हो ।

यहाँको घोलतालमा माछाको उत्पादकत्व २.३ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । भने, त्यस्तै सुदूरपश्चिमको कूल गृहस्थ उत्पादन (जीडीपी) को ०.५ प्रतिशत माछाको योगदान रहेको तथ्यांकमा उल्लेख छ ।

तर सुदूरपश्चिममा माछाको खपत निकै कम रहेको बताइएको छ । अझै पनि माछा उपभोग गर्ने सस्कृतिको विकास भइनसकेको बताइएको छ ।

मत्स्य विकास केन्द्र गेटाका प्रमुख निर्मल बहादुर खातीले सुदूरपश्चिमको जनसंख्याको अनुपात र उत्पादन हेर्दा यहाँ एक व्यक्तिले वार्षिक सरदर साढे २ किलो माछा मात्रै उपभोग गर्ने गरेको बताए ।

जुनकारण उत्पादनमा बृद्धिसँगै आउँदो १० वर्षमा प्रति व्यक्तिले १० केजी माछा उपभोग गराउने लक्ष्य प्रदेश सरकारको छ ।

हालको उत्पादनलाई ४ गुणा बढाउन हालको शुन्यतामा रहेको सरकारी लगानी बढाउँदै लैजानुपर्ने औल्याइएको छ । फलतः आउँदो १० वर्षभित्र ३० हजार मेट्रिक टन उत्पादन पुयाउनुपर्ने केन्द्रको लक्ष्य छ ।

माछामा लगानी बढ्दै
पछिल्लो समय माछा पालन व्यवसायमा सरकारको लगानी पनि बढ्दै गएको छ । यहाँको स्थानीय तह, प्रदेश सरकारले माछा पालन तथा तालतलैया संरक्षण, जलाशय विस्तारमा लगानी बढाउँदै गएपछि उत्पादन बढ्दै गएको हो ।

मत्स्य विकास केन्द्र गेटा प्रमुख खातीले चालू आर्थिक वर्षमा मात्रै प्रदेश सरकारले माछा पालनको लागि ५ करोड बजेट विनियोजन गरेको बताए ।

त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कैलाली जिल्लामा माछा जोन कार्यक्रम अगाडि बढाएको छ । परियोजना कार्यान्वयन इकाई, धनगढीले चालु आर्थिक वर्षमा कैलालीको धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी र भजनी नगरपालिकामा एक करोड बजेटको माछा जोन कार्यक्रम सञ्चालन गर्न लागेको परियोजना कार्यान्वयन इकाइ धनगढीका प्रमुख गोविन्दराज जोशी बताउँछन् ।

कार्यक्रम अन्तरगत नयाँ माछा पोखरी निर्माण, प्राकृतिक ताल तथा पोखरी मर्मत, यन्त्र उपकरण जडान लगायतको कार्यक्रम गरिने भएको छ ।

माछा पालनमा संलग्न किसानहरुले पनि मंहगो लागतमा माछा उत्पादन गरे पनि बजारको समस्या झेल्नुपरेको सुनाउँछन् । माछा पालन व्यवसाय सुरु गरेका कैलालीको गौरीगंगा नरपालिका ७ महादेवाका विहारीलाल चौधरीले माछा पालनमा आफ्नो पहिलो अनुभव सुनाउँदै भने, ‘सुरुमा त गतिलो भुरा –पंगास) पाइएन । धेरै मरे । महंगो दाना खुवाएर भएपनि उत्पादन पनि गरियो । तर पछि उत्पादित माछा बिक्री गर्नै गाह्रो भयो । बजारमा माछाको मोल पनि खासै पाइएन ।’

त्यस्तै, व्यावसायिक किसानहरुले पनि माछा पालन व्यवसायमा निजी लगानी बढाउँदै गएका छन् । माछा पालन व्यवसायमा भविष्य देखेका किसानहरु लगानीका साथ संलग्न हुँदैगएका छन् । धनगढी उपमहानगरपालिका १९ बौलियाका किसान अंगदुलारु चौधरीले आफूले एक सिजन (६ महिना)मा पंगास प्रजातिको १५ हजार भुरामा करिब २० लाखसम्म लगानी गरेको बताउँछन् । जुन आफूले डेढ महिनादेखि हार्भेस्टिङ)को कार्य गर्दै आएको सुनाउँछन् । उनी एक विघा क्षेत्रफलमा माछा पालन व्यवसाय गर्दै आएका छन् ।

कस्तो छ भुरा उत्पादनको अवस्था ?
सुदूरपश्चिम प्रदेशको कैलाली कञ्चनपुरस्थित जलाशयमा खासगरी कमन, ग्रास, सिल्भर, बिगहेड, नैनी, भ्याकुर, रहु गरी ७ वटा कार्प प्रजातिको माछाको भुरा उत्पादन गरिन्छ । जुन माछाको भूरा उत्पादनको अवस्था पनि उत्साहजनक छ । मत्स्य विकास केन्द्रद्वारा उत्पादित माछा सुदूरपश्चिम प्रदेशको ९ जिल्लासहित लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा पनि भूरा आपूर्ति हुँदै आएको छ ।

यहाँ २–३ ईन्चको फिंगरलिङ साइजको माछा जम्मा २ करोड गोटा माग रहेको छ । जसको ६० प्रतिशत मत्स्य विकास केन्द्र गेटा, बाँकी २० प्रतिशत निजि ह्याचरी र २० प्रतिशत बाहिरबाट आयात हुन्छ ।

त्यस्तै, पछिल्लो समय पंगासियस माछा उत्पादन पनि उत्साहजनक रुपमा हुँदैआएको छ । छोटो अवधीमा उत्पादन गरेर आम्दानी लिन सकिने सो माछाको उत्पादनमा किसानको आकर्षण उत्तिकै छ । तर सो माछाको भुरा र दाना भारतबाट आयात हुने हुँदा उत्पादन लागत अरु माछाको तुलना अधिक रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका मत्स्य शाखा प्रमुख महेश भटट्को भनाइ छ ।

बजारको मुख्य समस्या
माछा पालन व्यवसायमा उच्च सम्भावना रहेपनि यहाँका माछा पालक कृषकले विभिन्न समस्या झेल्दै आएका छन् । समयमा गुणस्तरीय माछाको भुरा, दाना, औषधी समेत नपाउने समस्या भोग्दै आएका छन् ।

उनीहरुले जसोतसो माछा उत्पादन गरिहाले बजारीकरणमा निकै समस्या झेल्नु परेको सुनाउँदै आका छन् ।

योसँगै माछा प्रशोधन, नयाँ परिकार बनाउने तथा माछा खाद्य प्रविधिको समेत अभाव रहेको विज्ञहरु बताउँछन् ।

मत्स्य विकास अधिकृत समेत रहेका पशु सेवा तालिम केन्द्रका डा.सूर्य बहादुर.शाही ठकुरीले मत्स्य विज तथा अन्य मत्स्य पालनमा प्रयोग हुने रसायन, कच्चा पदार्थ, औषधि, सम्पूर्ण रुपमा खाने माछामा आत्मनिर्भर हुन नसकेको बताउँछन् ।

उनका अनुसार यहाँका किसानहरुले मत्स्यजन्य पदार्थहरु भारतवाट ल्याउनु परेको छ । माछा उत्पादनमा चाहिने प्रविधि तथा श्रोत साधनको पनि अभाव छ । यतिमात्रै होइन, किसानको आकर्षण रहेको पंगास प्रजातिको माछा पालनमा भुरा, दाना, औषधि समेत भारतवाट आयात गर्नु परेको शाही बताउँछन् ।

माछा पालनमा संलग्न किसानहरुले पनि मंहगो लागतमा माछा उत्पादन गरे पनि बजारको समस्या झेल्नुपरेको सुनाउँछन् । माछा पालन व्यवसाय सुरु गरेका कैलालीको गौरीगंगा नरपालिका ७ महादेवाका विहारीलाल चौधरीले माछा पालनमा आफ्नो पहिलो अनुभव सुनाउँदै भने, ‘सुरुमा त गतिलो भुरा –पंगास) पाइएन । धेरै मरे । महंगो दाना खुवाएर भएपनि उत्पादन पनि गरियो । तर पछि उत्पादित माछा बिक्री गर्नै गाह्रो भयो । बजारमा माछाको मोल पनि खासै पाइएन ।’

यो पनि पढौँ