लखन चाैधरी/धनगढी : व्यावसायिक माछा पालनमा कृष्ण गिरी परिचित नाम हो । शिक्षण पेशा नै त्यागेर ३ दशकदेखि माछा पालन व्यवसायमा रमाइरहेका छन् । वार्षिक करोडौं कारोबारसहित माछाको बजार तताइरहेका छन् ।
कैलालीको कैलारी गाउँपालिका ९ कोइलहीका गिरी कैलालीको माछा पालन व्यवसायको उचाइलाई नयाँ मोडमा उकास्नमा टेवा पुर्याउँदै आएका हुन् ।
जीवनको ५५ वसन्त पार गरिरहेका गिरी ०५४ सालदेखि निरन्तर माछापालन व्यवसायमा रमाइरहेका हुन् । व्यवसाय स्थललाई कर्मभूमि ठान्ने गिरीको जन्म भने २०२६ मंसिर १५ गते स्यांजाको चापाकोट नगरपालिकामा भएको हो । तर जन्मेको दुई वर्षकै उमेरमा उनको परिवार बर्दियाको बढैयाताल गाउँपालिका स¥यो र कर्मभूमि बनायो । गिरी भने कैलालीलाई कर्मभूमि बनाएका हुन् । त्यो पनि तालतलैया रोजे ।

माछा पालन व्यवसाय गर्नुभन्दा पहिले, उनी ०४५ ताका प्रावि शिक्षकको रुपमा शिक्षण पेशामा थिए । ५ वर्षको शिक्षणको क्रममा उनी स्थायी शिक्षकको परीक्षामा नाम समेत निकालेका थिए । तर कृषि व्यवसायप्रतिको मोहले उनी शिक्षण पेशा नै त्यागेको सुनाउँछन् ।
माछा पालनको सूरुवाती चरणमा ०५४ सालमा साविकको गदरिया गाविसको अधिनमा रहेको हालको गौरीगंगा नगरपालिकास्थित जोगिनिया तालमा माछा पालन थाले । त्यसपछि जोगिनियामा ठेक्का अवधि जारी रहेकै अवस्थामा ०५६ मा उनी भजनी नगरपालिकास्थित घोरताल ठेक्का लिए । जहाँ उनी १३ वर्ष नै बिताए । सानो तालबाट क्रमिक ठूलो तामा माछा पालन थालेको उनी ०७२ सालदेखि भने कैलालीको घोडाघोडी तालपछिको दोस्रो ठूलो ताल कोइलहुवा ताल (९३ विघा) ठेक्का लिइ व्यवसाय बढाएका छन् ।
सुरुवाती अवस्थामा २ लाखबाट सुरु गरेको व्यवसायमा हाल ४ करोड बढी लगानी गरेको गिरी बताउँछन् । उनी एक करोड ४५ लाखमा ५ वर्षको लागि ठेक्कामा लिइ काम गर्दै आएका छन् ।
उनको व्यवसायले कैलालीमा माछा पालनको व्यवसायलाई नै माथि उकासी दिएको छ । वार्षिक १२ सयदेखि १५ सय क्वीन्टल माछा उत्पादन गर्दै आएका हुन् ।

रोजगारी सिर्जना
उनको व्यवसायले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा संयौलाई स्वरोजगार बनाएको छ । उनी भन्छन्, ‘माछा पालन व्यवसाय यस्तो व्यवसाय हो, जसमा म मात्रै रोजगार छैन । प्रकृति र पर्यपटनसँग जोडिएको व्यवसाय हो । यसको क्षेत्र नै व्यापक छ । सिजनमा ६० देखि ७० जना नियमित माछा मार्छन् । कोही बजारसम्म बिक्री गर्ने काम गर्छन् । यसको सम्भावना अथाह छ ।’
नेपालीहरुमा माछा उपभोग गर्ने संकार बढ्दो रहेको बताउने उनी माछाको बजार पनि उच्च रहेको बताउँछन् ।
उनी जहिलेदेखि तालको माछा बिक्रीको लागि खुला गर्छन्, तबदेखि माछा उपभोक्ताहरुको लाइन लाग्छ । विहानैदेखि माछा व्यापारीहरु तालमा ओइरन्छन् ।
व्यवसायमा अथक लगाव र निरन्तरता स्वरुप उनी देशकै उत्कृष्ट माछा उत्पादक व्यावसायिक किसानको रुपमा आफूलाई उभ्याउन सफल भएका छन् ।
नेपाल मत्स्य समाजले २०८० मा उनलाई प्राकृतिक जलाशयमा मत्स्य पालन र जलपर्यटन अथार्थ अक्वा टुरिज्मलाई प्रवद्र्धनमा उल्लेख्नीय योगदान गरेको भन्दै ४१ हजार नगदसहित “इन्दिरा भुषाल स्मृति पुरस्कार २०८०”बाट सम्मानित गरेको छ ।

भारतीय माछाले समस्या
माछा उत्पादन व्यवसायले फड्को मारिरहेको बेला भारतीय आयातित माछाले भने छाँयामा पार्ने काम भइरहेको गिरीको दुखेसो छ ।
उनले भने, ‘स्थानीय उत्पादनले जिल्ला नै आत्मनिर्भर हुने सभ्भावना छ । तर भारतीय माछाले समस्या सिर्जना गरेको छ । सोझै भारतीयहरुसँग प्रतिश्पर्धा गर्नुपरेको छ । जसले गर्न प्रतिफल पाइने हो, कि होइन भन्ने चिन्ता हामीलाई छ ।’
भारतीय आयातित माछा पूर्णरुपमा बन्देज नगरेसम्म यहाँका किसानहरु उठ्न सक्ने उनको भनाइ छ । उसो त उनी बेलाबखत स्थानीय किसानहरुलाई एकात्रित गरी प्रहरी प्रशासनदेखि नेताहरुसम्म बजार व्यवस्थापन तथा भारतीय माछा रोक्नको लागि हार गुहार गर्दैआएका छन् । तर सम्बन्धित निकायको उदासिनताले व्यवसाय नै धरापमा पार्ने काम भएको उनको दुखेसो छ ।
यो पनि पढ्नुहोस् ।
माछाको हब कैलाली–कञ्चनपुर, जीडीपीमा ०.५ प्रतिशत योगदान
