धनगढी : नेपाली समाज विभिन्न अनौठा चालचलन, धर्म, संस्कृति र रहनसहनको संगम हो ।
यहाँको आदिवासी थारु समुदायभित्र अनौठो तरिकाले मनाइने चाडपर्व, कला संस्कृति विद्यमान छन् । यसैमध्ये एक हो, भजहर पर्व । जहाँ एक गाउँभरिका महिलाहरु जंगलमै बसेर पर्व मनाएका छन् ।
कैलालीको कैलारी गाउँपालिका ८ लोहरपुरका महिलाहरु गाउँ नजिकैको सामुदायिक वनमा २ रात, ३ दिन बिताएर बिहीबार साँझ घर फर्केका छन् । अन्य बस्तीमा दिउँसोको समयमा मात्रै नजिकैको वनमा गइ भजहर मनाएपनि लोहरपुरका महिलाहरु भने राति बास नै बस्ने गरी पर्व मनाएका हुन् ।
गाउँका भलमन्सा कालीराम चौधरीले पहिलैदेखि चल्दैआएको चलन र गाउँको गुरुवाको सल्लाह अनुसार पर्व मनाएको बताए ।
भलमन्सा चौधरीले गाउँ नजिकैका सामुदायिक वनमा टहरा बनाइ बसेर पर्व मनाएको बताउँदै उनले सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाएर पर्व मनाएको जानकारी दिए । गाउँका महिलाहरु पर्वको अवधिभर गाउँमा गए पनि घरभित्र प्रवेश गर्न नपाउने गुरुवाको निर्देशन थियो ।

गाउँका पुरुषहरु भने गाउँघरको अन्य व्यवस्थापकीय कार्यमा जुटेका थिए ।
यसरी भजहर मनाउँदा गाउँमा रोगब्याधी नलाग्ने विश्वास रहिआएको छ । गाउँका गुरुवा रामप्रसाद कठरियाले गाउँका देवी दुर्गाहरुलाई मनौटा (भाकल) गरिएको र सोही अनुसार वनमा पकाइएको गाउँभरिको संकलन गरिएकोे सामूहिक खाना, तरकारी र प्रसादले पूजा गर्नुपर्ने भएको हुँदा भजहर भगाउँदै आएको बताए । सो अवधिभरि घरमा रहने बुढापाकाहरुको लागि वनमा पकाइएको खानेकुरा घरमा लग्ने गरिन्छ ।
लोहरपुरका पूर्व अघारिया (खबर बाहक) समेत रहेका मंगलकृष्ण चौधरी पहिलेदेखि मनाउँदै आएको भजहर केही वर्षअगाडि आफूहरु नपाउँदा गाउँघरमा खेस्रा, दद्रालगायत समस्या देखापरेको सुनाउँछन् । पछि पुनः भजहर मनाएको सुनाउँदैले रहरले नभइ बाध्यताले पनि भजहर मनाउँदैको उनको भनाइ छ ।

स्थानीयले भजहर पर्वलाई धार्मिक मान्यता अनुसार मात्रै नमनाई, विभिन्न मनोरञ्जनात्क गतिविधि, विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरि मनाएका छन् । जहाँ महिलाहरुबीच छुर, कबड्डी, टाँराचिरौवरलगायत पौराणिक खेलकुद पनि गरिएको छ ।
यसरी गाउँभरिका महिलाहरु एकै ठाउँमा घरभन्दा बाहिर पर्व मनाउँदा निकै रमाइलो भएको बताएका छन् । भजहरमै भेटिएकी स्थानीय सानु चौधरीले महिलाहरु सधैं घरभित्र मात्रै सीमित रहँदा उनीहरुभित्रको प्रतिभा गुम्सिएर रहने हुँदा घरभन्दा बाहिर पर्व मनाउँदा रमाइलो भएको बताएकी छिन् । यसअवधिमा आफूहरु विभिन्न नाचगान गर्नुको साथै आफ्नो सुरक्षा आफै कसरी गर्नेबारे पनि रणनीति बनाएका सानुले सुनाइन् ।
यसैबीच स्थानीय क्लबले भजहर कप फुटबल प्रतियोगिता पनि सञ्चालन गरेको थियो ।
यो पनि पढ्नुहोस्
