धनगढी : पावरटिलरको ठगी प्रकरणमा पक्राउ परेकी सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा र रकम असुलीमा संलग्न अर्की सुनिता चौधरीसँग २ करोड १ लाख माग दाबी गरिएको छ ।
पावरटिलर दिने भन्दै एक वर्षदेखि कैलाली, कञ्चनपुरलगायत जिल्लास्थित किसानबाट रकम संकलन गरेपनि उनीहरुले हालसम्म सामान उपलब्ध गराउन नसकेपछि किसानहरु मारमा परेका छन् ।
कृष्णपुर नगरपालिका–८ कञ्चनपुर ठेगाना रहेकी ३५ वर्षीया खड्का र उनी मातहत काम गर्ने गिरोहले हजारौं किसानबाट करोडौं रकम संकलन गरेका छन् । सामान नपाएपछि पीडित भएका किसानहरु उनीहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ठगीसम्बन्धी उजुरी दिएका थिए । यसै क्रममा, शनिबार प्रहरीले खड्का र चौधरीलाई काठमाडौंबाट पक्राउ गरी कञ्चनपुर ल्याएको हो ।
धनगढी उपमहानगरपालिका–९, बंगरा घर भएकी ५४ वर्षीया चौधरी नागरिक उन्मुक्ति पार्टीकी नेतृ पनि हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।
उनीहरु विरुद्ध किसानहरुको दुई समूहले उजुरी दिएको छ । पीडित किसानहरुको एक समूहले ६९ लाख र अर्को समूहले १ करोड ३२ लाख रुपैयाँ गरी जम्मा २ करोड १ लाख रुपैया माग दाबीसहित उजुरी दिएको प्रहरी नायव उपरीक्षक बोहराले अक्षरल्याबलाई बताए ।
माग दाबीको रकम अझै बढ्न सक्ने बताइएको छ । किनकि २ करोड १ लाख रुपैयाँ माग गर्ने किसान कञ्चनपुरका मात्रै हुन् । सुरो नेपालकी अध्यक्ष खड्का नेतृत्वको समूहले कैलाली, बाँके, बर्दिया र अछाम जिल्लाका हजारौं किसानबाट समेत रकम संकलन गरेको स्रोतको दाबी छ ।
सो गिरोहले प्रति किसानबाट ५० हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म रकम संकलन गरेको बताइएको छ ।
यसैबीच आफ्नो नेता पावरटिलर ठगीमा संग्लन भएको आरोपमा पक्राउ परेपछि नागरिक उन्मुक्ति पार्टीभित्र हचचल समेत पैदा भएको एक स्थानीय नेताले बताए ।
यो पनि पढ्नुहोस्
कैलाली कञ्चनपुरमा पावरटिलर दिने भन्दै किसानलाई ठग्दै आएकी सुशिला खड्कासहित दुई जना पक्राउ
